नेपालको वैदेशिक व्यापारः ११३ देशसँग घाटा व्योहोर्दा २९ सँग मात्रै नाफा

0
Shares

नेपालले चालु आर्थिक वर्षको पाँच महिना अर्थात साउनदेखि मंसिरसम्ममा १ सय ४२ देशसँग व्यापार गरेको छ । यस अवधिमा नेपालले वैदेशीक व्यापार गरेका ११३ देशसँग घाटा व्योहोर्दा २९ देशसँगको व्यापार बाट मात्र नाफा आर्जन गरेको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को मंसिरसम्ममा नेपालले १४२ वटा देशसँग कूल व्यापार ७ खर्ब ३२ अर्ब बराबरको व्यापार गरेको छ । सो अवधिमा ती देशहरुबाट नेपालले कूल ६ खर्ब ६४ अर्ब ७४ करोडको आयात गर्दा ६७ अर्ब ३० करोड रूपैयाँ बराबरको मात्र निर्यात गरेको छ।

जसबाट नेपालले कूल ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रूपैयाँ व्यापार घाटा व्योहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । गतवर्षको तुलनामा भने व्यापार घाटामा १८.७७ प्रतिशतले कमी आएको हो ।

नेपालले कुल १४२ वटा मुलुकसँग व्यापार गर्दा २९ वटासँगको व्यापार नाफामा छ। कति देशमा निर्यात मात्र भएको छ भने कति देशबाट आयात मात्रै भएको छ। भन्सार विभागका अनुसार मंसिरसम्ममा व्यापार गरेका १४२ मुलुकमध्ये डेनमार्कसँग सबैभन्दा बढी नाफा गर्दा भारतसँगको व्यापार घाटा सबैभन्दा उच्च रहेको छ।

२९ मुलुकसँगको व्यापार नाफामा

नेपालले विशेषगरी केहि अमेरिकन, अफ्रिकन तथा युरोपेली मुलुकसँगको व्यापारमा नाफा गरेको छ । नेपालले चालु आवको ५ महिनाको अवधिमा डेनमार्क, अमेरिका, अल्जेरिया, कम्बोडिया, रोमानिया, उरुग्वे, नर्वे, न्यु क्यालेडोनिया, क्रोशिया, कंगो तथा अफगानिस्तान लगायतका २९ मुलुकसँगको व्यापारमा नाफा गरेको छ । 

नेपालले सबैभन्दा धेरै नाफा डेनमार्कसँग गरेको छ । ५ महिनाको अवधिमा डेनमार्कसँग २९ करोड २७ लाख व्यापार नाफा छ । यसवअधिमा डेनमार्कमा १८ करोड ३ लाख बराबरको आयत हुँदा ४७ करोड ३१ लाख बराबरको निर्यात भएको छ । दोस्रोमा अमेरिकासँगको व्यापारमा ११ करोड ५४ लाख नाफा गरेको छ।

त्यसपछि अफ्रिकी मुलुक अल्जेरियासँग ७ करोड ३० लाख नाफा गरेको छ। त्यस्तै, कम्बोडियासँग ७ करोड ५ लाख, रोमानयासँग ६ करोड ४४ लाख, उरुगवेसँग ४ करोड ११ लाख, नर्वेसँग ४ करोड ८७ हजार तथा न्यु क्यालेडोनिया १ करोड ८ लाख नाफा गरेको छ ।

यस अवधिमा नेपालले २१ मुलुकसँगको व्यापारमा एक करोड भन्दा कम नाफा गरेको छ । ५ महिनाको अवधिमा सबैभन्दा कम बोसनिया हज गोभिनियासँग ३९ हजार नाफा गरेको छ । व्यापार नाफा भएका ३० मुलुकमध्ये ७ वटा मुलुकबाट आयात शुन्य रहेको छ।

२९ देशबाट आयात मात्र हुँदा ७ वटामा निर्यात मात्र

नेपालले यस अवधिमा व्यापार गरेका १४२ देशमध्ये २९ मुलुकबाट आयात मात्र गरेको छ। यसको अर्थ हो नेपालले २९ देशमा निर्यात गर्न सकेको छैन । नेपालले निर्यात गर्न नसकेका देशहरुमा जमैका, होण्डुरस, ल्ओ पिपुल्स डेमेक्रेटिक रिपब्लिक, अन्र्टाटिका, सुरिनेम, सिरियालियोन, उजवेकिस्तान, ग्रेनेडा तथा माल्दिभ्स लगायत रहेका छन ।

त्यस्तै, नेपालले केही मुलुकमा भने निर्यात मात्र गरेको छ । यस्ता मुलुकको संख्या ७ छ । ती देशहरुमा अल्जेरिया, न्यू क्यालोडोनिया, ग्वाडेलुप, अजरबैजान, जिम्बाब्बे, अंगोला लगायतका रहेका छन।

भारतसँग उच्च व्यापार घाटा

विभागको तथ्याङ्क अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । नेपालले भारतसँग ५ महिनाको अवधिमा मात्रै ३ खर्ब ५२ अर्ब ८० करोड व्यापार घाटा व्योहोरेको छ । यस अवधिमा भारतमा ४७ अर्ब ३७ करोड बराबरको सामान निर्यात गरेकोमा ४ खर्ब १७ करोड बढीको आयात गरेको छ।

नेपालको व्यापार घाटा उच्च हुने मुलुकमा चीन दोस्रो नम्बरमा तथा इन्डोनेसिया तेस्रो नम्बरमा रहेको छ । ५ महिनामा चीनसँगको नेपालको व्यापार घाटा ९४ अर्ब ३३ करोड बढी छ । सो अवधिमा ९४ अर्ब ५८ करोडको आयात भएकोमा चीनतर्फ २४ करोड ४७ लाख बराबरको मात्र निर्यात भएको छ।

इन्डोनेसियासँगको नेपालको व्यापार घाटा २० अर्ब ८३ करोड छ । नेपालको उच्च व्यापार घाटा हुने मुलुकहरुमा त्यसपछि क्रमश युनाइटेड अरब इमिरेट्स (युएई), अर्जेन्टिना, कतार, ओमान, मलेशिया, जोर्डन, युक्रेन, अष्ट्रेलिया, र साउदी अरेबिया रहेका छन ।

चालु आवको ५ महिनाको अवधिसम्म नेपालले सबैभन्दा कम व्यापार घाटा जमैकासँग व्योहोरेको छ । जमैकासँग १ लाख २ हजार घाटा छ । मंसिरसम्म जैमकाबाट १ लाख २ हजारको आयत गरेकोमा निर्यात भने शुन्य रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

 

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  १२ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।