खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न गृह मन्त्रीसँग परिसंघको आग्रह

0
Shares

नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेसँग भेटवार्ता गरी खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न आग्रह गरेको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज गृह मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिदै उद्योगी व्यवसायीहरुको समस्या, सीमा क्षेत्रमा भईरहेको अवैध कारोबार लगायतका विषयमा जानकारी गराएको छ ।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताए । केही बाहेक अधिकांश वस्तुको मागमा ३० देखि ७० प्रतिशतसम्म गिरावट आउँदा उद्योगी व्यवसायी आत्तिइरहेको उनले बताए।

सरकारले विदेशी मुद्रा संचिती बढाउन आयातमा कडाई ग¥यो । सरकारले आयातमा कडाई गर्दा पनि अटोमोबाइल बाहेक अन्य वस्तुहरु बजारमा उपलब्ध भईरहेका छन् । मुलुकमा अवैध कारोबार बढिरहेको वास्तविकता यो अवस्थाले समेत पुष्टि गरेकाले यसलाई रोक्न गृह मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

अवैध कारोबारका कारण स्वदेशी वस्तुको माग घटिरहेको, स्वदेशी वस्तुको प्रतिस्पर्धी क्षमता घटेको, सरकारले पनि राजश्व गुमाइरहेको र उद्योगीहरु हतोत्साही भईरहेको उनले बताए । यस्तै विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन पनि भएकाले ५० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने सुझाव दिए । ५० लाख पर्यटक भित्र्याउन र पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा पनि ई–भिषाको अवधारणा ल्याउनुपर्ने उनको सुझाव छ ।

परिसंघले मेक इन नेपाल स्वदेशी अभियानको सुझाव अन्तर्गत सुरक्षा निकाय एवं सार्वजनिक क्षेत्रका कर्मचारीहरुको पोशाकमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

सो अवसरमा नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै सुधारका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी रुपमा सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने कामलाई सधै उच्च प्राथमिकतामा राख्ने पनि बताए ।

“व्यापार, व्यवसाय, उद्योग, वाणिज्य क्षेत्रका साथीहरुलाई मन्त्रालयमा रातो कार्पेट विच्छ्याउनेछौं । उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रतिबद्ध छौं । उद्योगी व्यवसायीहरु राष्ट्रको मेरुदण्ड हुन् । उहाँहरु हल्लिनुभयो भने मुलुकको अर्थतन्त्र पनि हल्लिन्छ र हामीले केही पनि गर्न सक्दैनौ भन्नेमा हामी स्पष्ट छौं । सोही अनुसार हाम्रो मन्त्रालयले गर्नुपर्ने जिम्मेवारी पूर्ण रुपमा गर्नेछ” उनले भने ।

उनले स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्नेमा पनि जोड दिनुभयो । “मैले स्वदेशी वस्तु मात्रै लगाउने भनेको छु, सुरु पनि गरिसकेको छु । स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेको छु” उनले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार  १६ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।