नेपाल भारत ऊर्जा सचिवस्तरीय १२ औं बैठकमा लम्की बरेली र दुहबी पूर्णिया प्रसारण लाईन निर्माणलाई एजेण्डाका रुपमा पेस गर्न नेपालले प्रस्ताव गरेको छ ।
नेपालमा आगामी दिनमा विद्युत् उत्पादन बढ्दै जाने र सो अनुरुप निर्यात पूर्वाधार विस्तार गर्नुपर्ने देखिएकाले यी दुई प्रसारण लाइन निर्माणको मोडालिटी लागत साझेदारी लगायतका विषयमा छलफल गर्न आवश्यक रहेको औंल्याइएको हो ।
भारतको नयाँ दिल्लीमा हालै सम्पन्न संयुक्त प्राविधिक समितिको बैठकमा यसबारे छलफल भएको जनाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दिपकुमार देवको संयोजकत्वमा गएको ६ सदस्यीय टोलीले भारतीय समकक्षीसँग गत बुधबार छलफल गरेको थियो ।
छलफलमा यी दुई प्रसारण लाईन निर्माणका अतिरिक्त भएका दुईदेशीय प्रसारण लाईनको क्षमता विस्तारका विषयमा पनि छलफल गरेको जनाइएको छ । बैठकमा कुसाहा-कटैया १३२ केभि रक्सौल परवानीपुर १३२ केभी र महेन्द्रनगर टनकपुर १३२ केभी प्रसारण लाइनको क्षमता बढाउने विषयलाई पनि आगामी सचिव स्तरीय बैठकको एजेण्डा बनाउन छलफल भएको थियो । बैठकमा सहभागी एक अधिकारीका अनुसार यी प्रसारणलाइनको क्षमता विस्तार गर्न नेपालका लागि पनि अत्यावश्यक छ ।
कुसाहा कटैया प्रसारण लाइनलाई डबल सर्किट बनाउने काम अन्तिम चरणमा रहेको बताइँदै आएको छ । आगामी सिजनमा विद्युत् निर्यातमा यो दोस्रो सर्किट पनि उपयोगमा ल्याउन नेपालले चाहिरहेको छ । सो प्रसारणलाइनको नेपाल तर्फको खण्डलाई डबल सर्किट बनाइसकिएको छ । बैठकमा भारतीय पक्षले पनि सो कार्य अन्तिम चरणमा पुगेको बताएका थिए ।
प्राविधिक समितिले सचिवस्तरीय बैठकमा बन्न सक्ने एजेण्डा र ती बारेको प्राविधिक अवस्थाबारे निर्कौल गर्छ । सचिवस्तरीय बैठक कहिले हुने भन्ने निश्चित नभए पनि आगामी जनवरीको अन्तिमतिर गर्ने सोच दुबै देशका अधिकारीले बनाएको बुझिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया