अमेरिकी अर्थतन्त्र संकट उन्मुख, रित्तियो ढुकुटी, अर्को मन्दीको चेतावनी

0
Shares

विश्वको शीर्ष अर्थतन्त्र अमेरिका संकट उन्मुख रहेको छ । अमेरिकी सरकारको राजस्व खाताको रकम रित्तिएपछि अमेरिकी अर्थतन्त्र संकट उन्मुख बनेको हो ।

हाल अमेरिकाको कुल आन्तरिक ऋणको अधिकतम सीमा ३१ खर्ब ४० अर्ब अमेरिकी डलर रहेको छ । सन् २०२३ को जनवरी महिनामा नै अमेरिकाले ऋणको उक्त सीमा छोएको थियो । ऋणको अधिकतम सीमा बढाउने विषयमा जो बाइडेनले प्रतिपक्षी रिपब्लिकन पार्टीका नेताहरुसँग छलफल गरेता पनि दुवै पार्टी एकअर्कोसँग सहमत नभएपछि ऋणको अधिकतम सीमा बढ्न सकेको छैन ।

मे २ तारिखमा वाणिज्य विभाग प्रमुख जेनेट एलेनले आगामी जुन १ सम्म अमेरिकी कंग्रेसले ऋणको अधिकतम सीमा (सिलिङ) वृद्धि नगरे, देशले नगद अभावको समस्या भोग्नुपर्ने बताएकी छिन् । उनले बाइडनको निवास ह्वाइट हाउसमा पत्राचार गर्दै ऋणको सीमा वृद्धि नगरे जुन १ तारिखपछि अमेरिकाले कुनै पनि शीर्षकमा खर्च गर्न नसक्ने जानकारी दिएकी हुन् ।

जेनेट एलेनले बाइडेनलाई सम्बोधन गर्दै अमेरिकाले तत्काल कुनै ठोस कदम लिनु नसकेमा अमेरिकी अर्थतन्त्र संकट उन्मुख हुने र विश्वव्यापी अर्थतन्त्र मन्दी उन्मुख भएको समयमा अमेरिकामा अर्को मन्दी हुनसक्ने चेतावनी समेत दिएकी थिइन् । बाइडेनले आन्तरिक ऋणको सीमा वृद्धि तथा सीमा हटाउनका लागि प्रस्ताव गरिरहेका छन् । तर उनको प्रस्ताव रिपब्लिकन पार्टीका नेताहरुले स्वीकार गरेका छैनन् । रिपब्लिकन पार्टीका नेताहरुले आन्तरिक ऋणको सीमा बढाउँदा राज्यले खर्च कटौती गर्नुपर्ने शर्त राखेका छन् । बाइडेनले प्रतिपक्षीको उक्त शर्तले शिक्षा क्षेत्रमा, नागरिकहरुको सुरक्षामा खर्च भइरहेको अर्बौ रकम कटौती हुने धारणा राख्दै रिपब्लिकनको निन्दा गरिरहेका छन् ।

अमेरिकाको तल्लो सदनमा रिपब्लिकनहरुको बहुमत रहेको छ । रिपब्लिकनको शर्त मानेर आन्तरिक ऋणको अधिकतम सीमा बढाउने वा नयाँ समाधानको बाटो खोज्ने विषयमा बाइडेन अलमलमा परेका छन् । अमेरिकी अर्थतन्त्र संकटउन्मुख रहेको समाचारहरु विश्वभर प्रकाशित भएपछि बाइडेनले रिपब्लिन पार्टीका केबीन मेक्र्काथी, चाल्र्स ई स्कुमेर, मिच मेक्कनेल, हकिम जेफरी लगायतका नेताहरुलाई मे ९ तारिखमा हवाइट हाउसमा वार्ताका लागि आह्वान गरेका छन् ।

जेनेट एलेनले आन्तरिक ऋणको अधिकतम सीमा यथाशीग्र वृद्धि नभएमा लाखौँ अमेरिकी नागरिकलाई जीवनयापनमा समस्या हुने र विश्वव्यापी रुपमा रहेको अमेरिकाको गरिमा र राष्ट्रिय सुरक्षामाथि नै प्रश्न उठ्ने बताएकी छिन् ।

देशमा नगद अभावको अवस्था सिर्जना भएता पनि केन्द्रीय बैंक–फेडरल रिजर्भले ब्याजदर बढाइरहेको छ । आकाशिएको मुद्रास्फीति नियन्त्रण गर्न सन् २०२२को मार्च महिनादेखि आक्रामक शैलीमा फेडरल रिजर्भले ब्याजदर बढाएर शून्य प्रतिशतबाट ४.७५ प्रतिशत पुर्याएको छ ।

नगद अभावले सिर्जना गरेको संकटका निमित्त फेडरल रिजर्भको के कस्तो भूमिका रहन्छ भन्ने प्रश्नमा फेडका अध्यक्ष जेरोम पावेलले संकटग्रस्त अमेरिकी अर्थतन्त्रको बचाउका लागि केन्द्रीय बैंकसँग कुनै कवच नभएको बताउँदै आएका छन् ।

विश्वव्यापी अर्थतन्त्र संकट उन्मुख भएको समयमा अमेरिकी अर्थतन्त्रमा देखिएको नगद अभावको समस्याले अमेरिकामा आर्थिक मन्दीको सम्भावनालाई बढाएको छ । पछिल्लो समयमा अमेरिकाका ३ बैंक टाट पल्टिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा व्यापत तरलता अभावको समस्या समाधान गर्न नसक्दा टाट पल्टिने बैंकहरुको सङ्ख्या बढ्दै गएको छ ।

यस्तै फेडरल रिजर्भले आक्रामक शैलीमा बढाएको ब्याजदरका कारण कर्जाको ब्याजदर बढेको छ । उद्योगपति तथा व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर लगानी गर्ने अवस्थामा छैनन् । जसकारण नयाँ रोजगारी सिर्जना दर घटेको छ । आर्थिक वृद्धि दर घटेको छ । सन् २०२३को पहिलो त्रैमासमा अमेरिकाको आर्थिक वृद्धि दर १.१ प्रतिशत रहेको छ । जुन सन् २०२२ को अन्तिम त्रैमासमा २.६ प्रतिशत थियो ।

बैंकहरु टाट पल्टिदै जाँदा अमेरिकाको क्षेत्रीय बैंकिङ प्रणाली प्रभावित बनेको छ । फेडले आक्रामक शैलीमा ब्याजदर बढाउँदै जाँदा व्यवसायहरुमा लगानी घटेको छ । आन्तरिक ऋण अभावका कारण देशको व्यय शक्ति ह्रास भएको छ । यी सबै घटनाले अमेरिकी अर्थतन्त्र संकटग्रस्त रहेको पुष्टि गर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।