सर्वोत्तम सिमेन्टको कटअफ ४०१ रुपैयाँ कायम, सर्वसाधारणमा ३६१ रुपैयाँमा बिक्रीमा आउने

0
Shares

सर्वोत्तम सिमेन्टको प्राथमिक सेयरको कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएको छ । बुक बिल्डिङ्ग विधिबाट पहिलो पटक सेयर जारी गरेको कम्पनीको सेयर खरिदका लागि योग्य संस्थागत लगानीकर्ताबाट परेको आवेदनबाट उक्त मूल्य निर्धारण हुन आएको हो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार सर्वोत्तम सिमेन्टको आईपीओमा ४१ वटा योग्य संस्थागत लगानीकर्ताबाट कुल ३६ लाख १९ हजार १९० कित्ताको लागि आवेदन माग गरेका थिए । एक आवेदकले कुल निष्कासनको २० प्रतिशत हुन आउने ४ लाख ८० हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था थियो । आईपीओको न्यूनतम ४०१ रुपैयाँदेखि अधिकतम ६०१ रुपैयाँ ५० पैसासम्मको बिक्री मूल्य सीमा रहेपनि ४०१ देखि ४०६ रुपैयाँसम्मका दरमा खरिद बोलपत्र प्राप्त भएको नेप्सेले जानाकारी दिएको छ ।

ठूला कित्ता माग गरेका अधिकांश योग्य संस्थागत लगानीकर्ताले ४०१ रुपैयाँका दरले आवेदन दिएपछि ४०१ रुपैयाँ नै कट अफ मूल्य निर्धारण भएको हो । कम्पनीले सुरुमा बिक्री मूल्य सीमा ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँसम्म कायम गरेको थियो । पहिलो पटक ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ ५० पैसासम्मको अधिकतम बिक्री मूल्य सीमा रहेकोमा त्यसलाई पछि घटाइएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिटी एक्सप्रेस इन्भेष्टमेन्ट प्राली, स्काइ टच इन्भेष्टमेन्ट कन्सटट्यान्ट, अल्का इन्भेष्टमेन्ट प्रालिले ४०१ रुपैयाँको ४ लाख ८० हजार कित्ताका दरमा सेयर माग गरेका थिए । यो संख्या एक आवेदकले माग गर्नसक्न अधिकतम सीमा हो । आईपीओमा एक आवेदकले कुल निष्कासनको २० प्रतिशत मात्र माग गर्नसक्ने व्यवस्था थियो । कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फन्ड र कुमारी क्यापिटलले ४०६ रुपैयाँका दरले बोलपत्र माग गरेको थिए । कुमारी धनवृद्धि योजनाले २० हजार कित्ता, कुमारी इक्विटी फन्डले १५ हजार र कुमारी क्यापिटलले ५ हजार कित्ता खरिदका लागि आवेदन दिएको थियो । नागरिक लगानी कोषले ४०५ रुपैयाँमा ४ लाख कित्ताको लागि बोलपत्र पेश गरेको थियाे । 

बुक बिल्डिङ्ग मार्फत पहिलो पटक आईपीओ बिक्री गरेको सर्वोत्तम सिमेन्टले मंसिर ६ गतेदेखि १० गतेसम्म आईपीओ अनुमति पाएको सेयर संख्याको ४० प्रतिशत सेयर निस्काशनमा ल्याएको हो । जसअनुसार कुल २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बिक्री खुला गरिएको थियो । कम्पनीले बोलकबोल खुला गरेको मिति हिजो मंसिर १० गते सकिएपछि आज ११ गते सोमबार बिहान बोलपत्र खुला गरिएको हो । कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सर्वोत्तम बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्ने पहिलो कम्पनी समेत हो ।

सर्वसाधारणमा ३६१ रुपैयाँमा आउने

सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर सर्वसाधारणमा प्रतिकित्ता ३६१ रुपैयाँमा बिक्रीमा आउने भएको छ । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १० प्रतिशत घटाएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्ने व्यवस्था छ ।

सोमबार संस्थागत लगानीकर्ताबाट ४०१ रुपैयाँ कटअफ कायम भएको छ । त्यसको १० प्रतिशत ४० रुपैयाँ १० पैसा हुन आउँछ । यसअनुसार सर्वोत्तमको सर्वसाधारणमा बिक्री मूल्य ३६० रुपैयाँ ९० पैसा हुन आउँछ । यससँगै सिमेन्ट कम्पनीको दोस्रो चरणको आईपीओ सर्वसाधारणलाई प्रतिकित्ता ३६१ रुपैयाँमा जारी हुनेछ ।

कम्पनीले कुल ६० लाख कित्ता आईपिओ निष्काशन गर्न अनुमति पाएको थियो ।  योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासनपछि बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा २०७९ असार २८ गते निवेदन दिएकोमा १५ महिनापछि अनुमति पाएको थियाे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।