विद्युत प्राधिकरणले इन्टरनेट तार काट्न थालेपछि आइस्पानले गुहार्‍यो सरकार

0
Shares

नेपाल विद्युत प्राधिकरणले आफुखुशी इन्टरनेटका तार काट्न थालेपछि नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले सरकारसँग गुहार मागेको छ । प्राधिकरणको दादागिरीले उपभोक्ताको हक अधिकार हनन भएको भन्दै तत्काल यस्तो कार्यलाई बन्द गराउन सरकारसँग माग गरेको हो ।

आइस्पानले सोमबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरी विद्युत प्राधिकरणले एकलौटी निर्णय गर्दै इन्टरनेट सेवा प्रदायकहरुको डाटा सेन्टर, अपरेशन पोइन्टमा विद्युत लाइन काट्ने, इन्टरनेट सेवा प्रवाह गर्ने तार छानिछानी काट्ने कार्य गरेको बताएको छ ।

नेपालमा रहेको इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा सञ्चालनका लागि नेपाल विद्युत प्राधिकरणको पूर्वाधारहरु सञ्चालन गर्दै आएको छ । सेवा प्रदायकहरुको आफनै पूवाधार नहुदा दुरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले विद्युतकै पोल प्रयोग गर्दै आएका छन् । यसरी प्रयोग भएका पोलको भाडा विद्युत प्राधिकरणले एकलौटी रुपमा बढाउँदै आएको छ । विद्युतले पोलको भाडा ७०० प्रतिशतसम्म बढाएपछि इन्टरनेट सेवा प्रदायकहरुले यसको विरोध गदै आएका थिए ।

इन्टरनेट सेवा प्रदायकहरुको विरोध पछि सरकारले उच्च स्तरीय समिति गठन गरी पोल भाडाको बिषयमा प्रतिवेदन पेश गरेको छ । तर, विद्युतले सो प्रतिवेदनको वेवास्ता गरी पुरानै भाडादर लागू गरे पछि इन्टरनेट सेवा प्रदायकहरु रुष्ट भएका हुन् ।

तत्कालन उर्जा मन्त्री पम्फा भुसालको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले प्रतिवेदन तयार पारी बुझाई सकेको छ । तर, पनि विद्युतले पुरानै दरमा पोल भाडा भुक्तानी गर्न दबाब दिई रहेको आईस्पानका अध्यक्ष सुधिर पराजुलीले बताए । “हामीले यस अघि पनि पोल भाडा भुक्तानी गरेका हौ । अब पनि गर्छौ । तर, एकैपटक ७०० प्रतिशत भाडा बढाउदा हामी स्वत घाटामा जान्छौ,” उनले भने । कि त हामीले सेवाग्राहीसँग चर्को शुल्क असुल्नु पर्ने हुन्छ । अन्यथा अब हामीले सरकारलाई तालाचाबी बुझाउनु पर्नेहुन्छ ।

प्राधिकरणले प्रतिवेदन गुपचुप राखेको आइस्पानको आरोप छ । नयाँ प्रतिवेदन सार्वजनिक गरी सोही बमोजिमको शुल्क तय गर्न आईस्पानले सरकारलाई गुहार मागेको छ ।  प्राधिकरणले महानगरपालिका र उपमहानगरपालिका भित्र रहेका आफ्नो पोल प्रयोग गरे बापत इन्टरनेट सेवा प्रदायकलाई मासिक ७५० रुपैयाँ शुल्क तोकेको छ । यस अघि भने २०५ रुपैयाँ मात्रै थियो ।

त्यस्तै, नगरपालिका भित्र रुपैयाँ ४५० पुर्‍याएको छ । यस अघि १०५ रुपैयाँ थियो । गाउँपालिका भने पोल भाडा सात गुणाले बढाएर ३५० रुपैयाँ पुर्‍याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १८ पुस २०७९, सोमबार  १६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।