वैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसीमा धेरै जोखिम हुने भएपछि जीवन बीमा कम्पनीहरुले हात झिक्न थालेका छन् । अधिकांश पुराना जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा जारी गर्न छोडी सकेका छन् । तर, नयाँ कम्पनीहरुले भने प्रतिस्पर्धा कै लागि भए पनि पोलिसी भने जारी गरेका छन् ।
पुराना नौ जीवन बीमा कम्पनीमध्ये अहिले तीन वटा कम्पनीले मात्रै पोलिसी जारी गरेका छन् । बाँकी अन्य आठ वटा नयाँ जीवन बीमा कम्पनीले यो पोलिसी विक्री गर्दै आएका छन् । सरकारले अनिवार्य गरेकै कारण कम्पनीहरुले पोलिसी विक्री गरेको एक बीमकले बताए । अन्यथा यो कम्पनीहरुका लागि घाटाको व्यवसाय भएको उनको दाबी छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७९/८० को मंसिर महिनासम्ममा वैदेशिक रोजगार म्यादी जीवन बीमा बापत कम्पनीहरुले एक अर्ब ४३ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । समिक्षा अवधिसम्ममा कम्पनीहरुमा १२ लाख ४९ हजार ७६२ पोलिसी कायम छ ।
त्यस्तै, चालु आवको मंसिर महिनामा मात्रै कम्पनीहरुले ६५ हजार ८१५ वटा पोलिसी जारी गरेको छ । पोलिसी विक्री गरे बापत कम्पनीहरुले २७ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने एक खर्ब ४६ अर्ब ३६ करोड रुपैयाँ दायित्व बहन गरेका छन् ।
पछिल्लो समय आइएमई लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायमा आक्रमक रुपमा लागेको देखिन्छ । गत मंसिर महिनामा मात्रै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २३ हजार ५२७ वटा वैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसी बिक्री गरेको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले भने १३ हजार ८८१ वटा पोलिसी विक्री गरेको छ ।
सरकारले २०६४ साल देखि बैदेशिक रोजगारी म्यादी जीवन बीमालाई अनिवार्य गरेको हो । विदेशमा काम गर्न गएका नेपाली कामदारहरु विभिन्न दुर्घटना पर्ने क्रम बढ्दै गएपछि बैदेशिक रोजगारी म्यादी जीवन बीमालाई सरकारले अनिवार्य गरेको हो । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदार रोजगारीका क्रममा मृत्यू भएमा बीमा कम्पनीले अधिकत्तम १४ लाख रुपैयाँसम्म भुक्तानी गर्नुपर्ने व्यवस्था छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया