नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कारोबार सुरु, कुल पूँजी ५८ अर्ब, सम्पत्ति ४७१ अर्ब

3
Shares

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले एक आपसमा मर्जर प्रकृया पुरा गरी नयाँ बैंकको रुपमा एकीकृत कारोबार सुरु गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो ।

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई बैंकले एकीकृत कारोबार थालेका हुन् ।

एकीकृत कारोबार सुरु गरेसँगै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९४ हजार रुपैयाँ नाघेको छ । इन्भेष्टमेन्ट बैंक र मेगा १०० बराबर ९० को अनुपातमा मर्जरमा गएका हुन् । मेगा बैंकका सेयरधनीले मर्जरपछि बन्ने बैंकमा मेगाको १०० कित्ता बराबर इन्भेष्टमेण्ट मेगाको ९० कित्ता सेयर पाउनेछन् ।

मर्जरपश्चात ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’को केन्द्रीय कार्यालय साविकको नेपाल इन्भेष्टमेण्ट बैंकको दरबारमार्गस्थिति कार्यालय रहने छ । मर्जर पश्चात बन्ने बैंकको कुल पुँजी ५८ अर्ब रुपैयाँ माथि, ग्राहक संख्या ३० लाख पुगेको छ । निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । यस्तै शाखा सञ्जाल २५७ वटा पुगेका छन्। । एक्सटेन्सन काउन्टर ५९ वटा तथा एटीएम संख्या २७९ पुगेको छ ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पुस १४ गते बिहीबार बसेको बैंठकले इन्भेष्टमेन्ट र मेगाको मर्जर तथा प्राप्तीका लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो ।

दुई बैंकबीत गत जेठ २७ गते मर्जरको प्रारम्भिक सम्झौता भएको थियो । राष्ट्र बैंकले असार २२ गते दुई बैंकलाई मर्जरको लागि सैद्दान्तिक सहमति दिएको थियो । दुबै बैंकको पुस ७ गते सम्पन्न साधारण सभाले अन्तिम पटक मर्जर प्रस्ताव पारित गरेका थिए ।

गाभ्ने–गाभिने क्रममा दुवै संस्थाबीच निर्धारित सेयर स्वाप अनुपात अनुसार पुँजी मिलान गर्दा आएको बार्गेन पर्चेज गेनलाई गाभ्ने संस्थाले विद्यमान लेखामान अनुसार सम्बन्धित शीर्षकमा आम्दानी जनाई नियमानुसार लाग्ने कर कट्टी गरी पूँजीगत जगेडा कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्वीजिसन नीतिलाई अंगिकार गरेको छ । उक्त नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडले एक आपसमा मर्जरको सम्झौता गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ पुस २०७९, बुधबार  १२ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।