गैरआवासीय नेपाली संघले ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’ लाई अघि बढाउन देखा परेका कठिनाईलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।
गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भेटघाट गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गर्दै सो आग्रह गरेको हो।
सो अवसरमा संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाईबारे जानकारी गराउ“दै ती कठिनाईलाई तत्काल सम्बोधन गर्न आग्रह गरे।
विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका शिलशिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नुका साथै उनीहरुका परिवारलाई आर्थिक सहायतासहित पुर्नएकीकरण लगायतका विषयमा नेपाल सरकारले पहलकदमी लिनुपर्ने माग अध्यक्ष केसीले राखे ।
यस्तै, गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट संम्बोधन भइआएका विषयहरु र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा संघको तर्फबाट धारणा राखिन् ।
त्यसैगरी, संघका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गरे । ‘एक पटकको नेपाली सदैव नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगो लगाउन संघका तर्फबाट आग्रह गरे ।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका लाखौ नेपालीहरुको मन जित्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले भने, “विदेशमा लाखौं नेपालीहरु छन्, मैले मेरो दोस्रो कार्यकालसम्म एनआरएनएले उठाएका मागहरु सम्बोधनका लागि प्रयास गरे र अब मेरो तेस्रो इनिंग्स्मा विदेशमा बस्ने बहुसंख्यक नेपालीको मन जित्छु ।”
भेटमा प्रधानमन्त्री दाहालले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउ“दै आएको र अबको दिनमा पनि कानूनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए ।
संघको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै उनले भने, “नेपालका कतिपय परम्परागत ऐन कानून छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईहरुलाई विश्वस्त पार्न चाहान्छु कि, म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु ।”
विदेशमा रहेका नेपालीहरुले नेपाल र नेपालीको पहिचान विश्वमाझ पु¥याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै गैरआवासीय नेपालीप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गरे । राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक रुपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरु थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति प्रधानमन्त्री दाहालले खुशी व्यक्त गरे।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया