नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीले नेपाली वस्तुहरु पाकिस्तान निर्यात बढाउन आवश्यक सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालसँग परिसंघ सचिवालयमा शुत्रबार भएको भेटमा उनले पाकिस्तानमा चियाको राम्रो बजार रहेकाले नेपाली चिया निर्यात गर्न सकिने समेत बताए । साथै उनले पाकिस्तानी पर्यटकहरु नेपाल भ्रमण गर्न रुचाउने भन्दै उनले दुई देशबीच डिजिटल भुक्तानी हुने व्यवस्था गर्न सुझाएका थिए ।
भेटमा परिसंघका अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूतबीच दुई पक्षिय हितका विषयमा छलफल भएको हो ।

राजदूत हाशमीलाई स्वागत गर्दै अध्यक्ष अग्रवालले समग्र आर्थिक विकासका लागि सरकार एवं अन्य सरोकारवाला निकायहरुसँग परिसंघले सहकार्य गर्दै आएको बताए । उनले पर्यटन, चिया, कफी लगायतका माध्यमबाट पाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिए । उनले नेपाल पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुनः जोड्न सकिए पर्यटन उद्योगका लागि महत्वपूर्ण हुने उल्लेख गरे । त्यसका लागि आवश्यक सहयोग एवं समन्वय गर्न समेत उनले राजदूतलाई आग्रह गरेका थिए ।
छलफलमा परिसंघ पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, महानिर्देशक दिपकराज जोशी लगायत सहभागी थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया