उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन


नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् । धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकाल महासंघ अन्तरगतको पुँजी बजार फोरमको सदस्यमा चयन भएका हुन् ।

नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेका ढकाललाई उक्त फोरमका सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् । लामो समयदेखि नेपालको पुँजी बजारलाई नजिकसँग बुझेका ढकालको नियुक्तीसँगै आगामी दिनमा पुँजी बजारलाई सुदृढ गर्दै शसक्त रुपमा अघि बढाउन मद्दत पुग्ने महासंघको विश्वास छ ।

ढकाल भर्खरै मात्रै धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) का अध्यक्ष हुन् । नयाँ ब्रोकरले लाईसेन्स अनुमति पाउनुमा ढकालको ठूलो योगदान छ । संसदको अर्थ समितिले तत्काल ब्रोकर लाईसेन्स रोक्ने निर्णय गरेको अवस्थामा उनले उक्त समिति अन्तरगतका हरेक संसदलाई भेटी पुँजी बजारको दायरा र नयाँ ब्रोकरको सम्बन्धमा वास्तविकता बुझाएर सबैलाई नयाँ ब्रोकर लाईसेन्स दिलाउन सफल भएका थिए ।

ढकालसँग हालसम्म आधादर्जन वित्तीय संस्थामा संचालकको रुपमा रहेर काम गरेको अनुभव छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका ढकाल कानुनविद समेत हुन् । हाल उनी पाटन उच्च अदालत बारको कार्यकारी सदस्य समेत रहेका छन् ।

आफु पुँजी बजार फोरमको सदस्य भएसँगै आगामी दिनमा लगानीकर्ताको मनोवल उकास्दै नेपालको सेयर बजारलाई थप सुदृढ र विश्वसनीय बनाएर अघि बढाउन पहल गर्ने ढकालले बताए । “हीतग्राही खाताको आधारमा ५६ लाखभन्दा बढी लगानीकर्ता आवद्ध रहेको सेयर बजार अहिले सिथिल भएको छ,” उनले भने, “आगामी दिनमा लगानीकर्ताको मनोवन उच्च बनाउँदै सेयर बजारको वृद्धि र विकासमा लाग्नेछु ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार  १९ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।