श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक सञ्जालको विकास गर्ने जनाएको छ ।
श्रीलङ्काका बन्दरगाह, पानीजहाज तथा उड्डयनमन्त्री निमल सिरिपाला डी सिल्भाले शुक्रबार संसद्लाई गरेको सम्बोधनमा उक्त कुरा बताएका हुन।
उनले भने, “श्रीलङ्काले उच्च स्तरीय पर्यटकलाई आकर्षित गर्न विभिन्न विमानस्थललाई जोड्ने आन्तरिक हवाई यातायात सञ्जाल विकास गर्न लागेको छ ।”
बन्दरनाइके अन्तर्राष्ट्रिय विमानस्थल, मत्ताला राजापाक्षे अन्तर्राष्ट्रिय विमानस्थल, जाफना अन्तर्राष्ट्रिय विमानस्थल र ट्रिन्कोमाली र बत्तिकालोवाका आन्तरिक विमानस्थललाई यस कार्यक्रमअन्तर्गत जोडिने उनले बताए ।
आन्तरिक हवाई यातायात सञ्जालको विकास गरेमा सम्पन्न तथा बढी खर्च गरी सेवा लिन चाहने पर्यटकलाई आकर्षित गर्न सक्ने उनले बताए ।
मन्त्री डी सिल्भाले पछिल्लो समय केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले श्रीलङ्कामा उडान बढाएको जानकारी दिए ।
पर्यटन यो दक्षिण एशियाली मुलुकको लागि एक महत्वपूर्ण विदेशी मुद्रा कमाई हो । सम्पन्न र स्तरीय पर्यटकहरू आकर्षित गर्नु स्थानीय पर्यटन उद्योगको लागि एक महत्वाकाङ्क्षी लक्ष्य हो ।






