निजी क्षेत्रका तीनवटा छाता संगठनहरुले अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्ने जस्ता कार्यबाट निजी क्षेत्र त्रसित हुन पुगेको बताएका छन् । भाटभटेनी सुपर स्टोरका सञ्चालक मिन बहादुर गुरुङलाई ललिता निवास जग्गा काण्डमा प्रहरीले पक्राउ गरि थुनामा राखेपछि निजी क्षेत्रका छाता संगठनहरु एकजुट भएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ती जारी गर्दै आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने र थुन्ने कार्यको विरोध जनाएका हुन् । कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुन्न उनीहरुले आग्रह गरेका छन् । आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी क्षेत्रले माग गरेको छ ।
“कानून विपरित काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ र कारबाही गरिनुपर्छ । तर कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुँदैन ।” विज्ञप्तीमा भनिएको छ, “यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं । ”
राज्यको यस्तो प्रवृत्तिले उद्यमी व्यवसायीको मनोबल कमजोर भई हतोत्साही हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला साना ठूला व्यवसायी एवं उद्यमीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने निजी क्षेत्रको भनाई छ ।

न्यून मागका कारण लगानी विस्तार हुन नसक्दा कुल गार्हस्थ्य उत्पादन अपेक्षित भन्दा ६ प्रतिशत विन्दु कम हुँदा मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र समस्यामा रहेको उल्लेख गरिएको छ । राजश्व संकलन गत वर्षभन्दा १३ प्रतिशतले घटेको र दश महिनायता मुल्य वृद्धिदर ७ प्रतिशत माथि रहेको उनीहरुले जनाएका छन् ।
उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा बहुआयामिक असर परेको र देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुनसक्ने निजी क्षेत्रले औंल्याएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया