गत आर्थिक वर्ष २०७९/०८० मा रुकुमपूर्वकबाट साढे ३७ करोड रुपैयाँ विकास बजेट फ्रिज भएको छ । सङ्घीय तथा प्रदेश सरकारबाट जिल्लाका विभिन्न कार्यालय र स्थानीय सरकारमा प्राप्त चालु र पुँजीगत बजेटमध्ये ३७ करोड ५१ लाख १७ हजार १११ रुपैयाँ ७ पैसा खर्च हुन नसकेको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घीय भन्दा प्रदेश सरकारको धेरै बजेट खर्च हुन नसकी फिर्ता भएको छ । प्रदेश सरकारबाट जिल्लामा प्राप्त कुल बजेटमध्ये ७९.४० प्रतिशत मात्रै खर्च भएको छ । प्रदेशबाट चालु र पुँजीगत गरी एक अर्ब ६५ लाख ३६ हजार २६३ रुपैयाँ बजेट प्राप्त भएकामा ७९ करोड ९२ लाख ८० हजार ८१ रुपैयाँ २९ पैसा खर्च हुँदा २० करोड ७२ लाख ५६ हजार १८१ रुपैयाँ ७१ पैसा खर्च हुन नसकेको लेखा नियन्त्रक नरेन्द्र बुढामगरले जनाए । प्रदेश मातहतका जिल्लाका विभिन्न कार्यालय र आयोजनाको बजेट खर्च हुन नसकेको बुढामगरले जानकारी दिए ।
तुलनात्मक रूपमा प्रदेश सरकार भन्दा सङ्घीय सरकारबाट प्राप्त बजेट बढी खर्च भएको छ । चालु र पुँजीगत गरी सङ्घीय सरकारबाट जिल्लामा दुई अर्ब तीन करोड ९१ लाख एक हजार ७४९ रुपैयाँ बजेट आएकोमा ९१.७७ प्रतिशत अर्थात् एक अर्ब ८७ करोड १२ लाख ४० हजार ८१९ रुपैयाँ ६४ पैसा खर्च भएको छ भने १६ करोड ७८ लाख ६० हजार ९२९ रुपैयाँ ३६ पैसा खर्च नभएको लेखा नियन्त्रक बुढामगरले बताए । सङ्घीय मन्त्रालय, अन्तर सरकारी र वित्तीय हस्तान्तरण शीर्षकमा बजेट आएको र त्यसमध्येबाट केही बजेट फ्रिज भएको उनको भनाइ छ ।
साथै गत आर्थिक वर्षमा जिल्ला स्थित सङ्घीय अन्तर्गत कार्यालयबाट ६ करोड ९३ लाख १८ हजार १६९ रुपैयाँ ५६ पैसा राजस्व सङ्कलन हुँदा जिल्ला स्थित प्रदेश अन्तर्गत कार्यालयबाट ८१ लाख १५ हजार ३३६ रुपैयाँ राजस्व सङ्कलन भएको बुढामगरले जानकारी दिएका छन् । प्रदेश र सङ्घ अन्तर्गत जिल्ला स्थित कार्यालयबाट गरी ७ करोड ७४ लाख ३३ हजार ५०५ रुपैयाँ ५६ पैसा राजस्व सङ्कलन भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया