निजी क्षेत्रबाट सञ्चालनमा आएको सबैभन्दा ठूलो उत्पादक कम्पनी–सूर्य नेपाल प्रालिले सन् २०२२ मा २७ अर्ब १ करोड १४ लाख सञ्चालन आम्दानी गरेको छ ।
सन् २०२२ मा कम्पनीले २६ अर्ब ९८ करोड ६० लाख बराबरको खुद बिक्री गरेको छ । जसकारण कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, बर र भाडा सहितको नाफा समेत बढेको छ । सन् २०२२ मा कम्पनीले गरेको नाफाबाट १० अर्ब ४० करोड ३० लाख बराबरको लाभांस घोषणा गरेको छ ।
कम्पनीले सन् २०२१ मा २४ अर्ब ४९ करोड २० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । सन् २०२१को तुलनामा सन् २०२२ मा कम्पनीको आम्दानी १०.२९ प्रतिशतले बढेको हो ।
सन् १९८६ मा स्थापना भएको कम्पनीले नेपालमा १० विभिन्न प्रकारका सिगरेटहरुको उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेका सिगरेट नेपालमा निम्न वर्गीय परिवारदेखि उच्च वर्गीय परिवारले समेत उपयोग गर्दै आएका छन् ।
कम्पनीले शिखर लेजेन्ड, शिखर २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली, चौतारी ब्रान्डनामबाट सिगरेटको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
धुम्रपान गर्ने व्यक्तिहरुको स्वाद र उनीहरुको इच्छा बमोजिम कम्पनीले सिगरेटको उत्पादन गर्दै आएको छ । हालै कम्पनीले सिगरेटका साथै सलाई, अगरवत्ती र मिठाईहरुको उत्पादन समेत सुरु गरेको छ ।
पछिल्लो समयमा किशोरावस्थादेखि नै धुम्रपान गर्ने मानिसहरुको सङ्ख्या दिनानुक्रममा बढ्दै गएको छ । जसकारण सिगरेटको बजार बढ्दै गएको छ । सूर्य नेपालले उत्पादन गर्ने सिगरेटहरु म्ूल्य सबैखाले ग्राहकले उपयोग गर्न सक्ने गरी निर्धारण गरिएको छ । जसकारण नेपाली बजारमा सूर्य चुरोटको लोकप्रियता बढेको छ भने बिक्री बढेसँगै आम्दानी बढेको छ ।
यस्तै कम्पनीमा अनुभवी तथा लामो समयसम्म यहि क्षेत्रमा काम गरेका व्यक्तिहरुको संलग्नता रहँदा पनि कम्पनीको वित्तीय छवि बलियो हुँदै गएको छ । कम्पनीका अध्यक्ष सञ्जिप पुरी हुन् । उनी आइटिसी नेपालका प्रबन्ध निर्देशक हुन् । यस्तै रवि के राभ्याबरम कम्पनीका प्रबन्ध निर्देशक रहेका छन् ।
कम्पनीमा आइटीसी इन्डिया लिमिटेडको सेयरहिस्सा ५९ प्रतिशत रहेको छ । यस्तै नेपालका केही व्यक्ति तथा संस्थाहरुले सूर्य नेपालको ३९ प्रतिशत सेयरहिस्सा ओगटेका छन् भने ब्रिटिश अमेरिकन टोबाको लिमिटेडको सेयर हिस्सा २ प्रतिशत रहेको छ ।
कम्पनीले ५ अर्ब ७५ करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई ए१ प्लस रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ५५९.१९ गुणा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया