रियल स्टील्सको आम्दानी १ अर्ब २३ करोड, निर्माण क्षेत्रको मन्दीले खस्कियो कारोबार

0
Shares

अर्थतन्त्रमा छाएको आर्थिक मन्दीको प्रभाव निर्माण व्यवसायमा परेको छ । निर्माण सामाग्री उत्पादन गर्दै आएको रियल स्टील्सको आम्दानीमा गिरावट आएको छ।

आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ३७ करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी गत आवमा १ अर्ब २३ करोड १० लाखमा झरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको आम्दानी १० प्रतिशतले घटेको हो ।

कम्पनीको आम्दानीमा आएको गिरावटसँगै अन्य वित्तीय सूचांकमा समेत गिरावट आएको छ । अघिल्लो आवमा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा कुल आम्दानीको ९.४७ प्रतिशत थियो भने गत आवमा उक्त आम्दानी ऋणात्मक रहेको छ ।

सन् २०१८ मा स्थापना भई सन् २०२० बाट सञ्चालन भएको कम्पनीले एमएस पाइप, सटर पट्टी, सटर गाइड, हट रोल्ड सीट, कोल्ड रोल्ड सीट, लक प्लेट, कान प्लेट, सटर स्प्रीङ उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादन क्षमता प्रति वर्ष ४९ हजार ८०० मेट्रिक टन रहेको छ ।

कम्पनीले १ अर्ब ५० करोड ६९ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ४३ करोड १९ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र १ अर्ब ७ करोड ५० लाख बराबरको अल्पकलाीन कर्जाका लागि ए४ रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता ऋणात्मक रहेको छ ।

कम्पनीका अध्यक्ष प्रेम कुमार जेतिया हुन् भने दिपल खन्ना कार्यकारी निर्देशक रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार  १६ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।