किन खेलिन्छ दसैँमा पिङ ? यस्तो छ पिङ र चङ्गाको इतिहास


वर्ष भरि नै खेल्न सकिने खेल पिङ आखिर किन दसैँमा नै खेल्ने गरिन्छ ? अथवा हावा चल्दा जहिले पनि उडाउन सकिने चङ्गा उडाउन दसैँ नै किन पर्खनु पर्ने रु यी प्रश्नले बेला बेलामा निकै सोच्न लगाउँछ ।

पिङ खेल्न तथा चङ्गा उडाउनको लागि दशै वा शरद ऋतु नै रोज्नुको प्रमुख कारण के होला भन्ने विषयमा खोज्दै जाँदा कुनै चित्त बुझ्दो कारण भने भेट्न सकिएन । साथै नेपालमा पिङ वा चङ्गा कहिले देखि शुरु भयो भन्ने पनि कुनै यकिन इतिहास भेटिदैन । बुढापाकाले दसैँमा एकदिन भए पनि जमिन छोड्नु पर्दछ । तसर्थ पिङमा मच्चिनु पर्दछ भन्दछन् । तर यसको पनि खास कारण भेटिदैन । चङ्गा पनि उडाउन सबै तम्सिने गर्दछन् । आखिर किन यहि बेलामा भन्ने प्रश्नको भने कुनै जवाफ भेटिदैन ।

पिङको विश्व इतिहास खोतल्न थाल्यौ भने इसापूर्व पाँचौ शताव्दीमा ग्रीक सभ्यताको अन्वेषण गर्ने क्रममा महिला तथा बच्चाहरु पिङमा रमाउदै गरेको चित्र कोरिएको माटोको भाडा भेटिएको थियो । जसले गर्दा पिङ ग्रीक सभ्यतासंग गाँसिएको तथा इसापूर्व पाँचौ शताव्दी भन्दा अगाडि देखि नै पिङ खेल्न थालिएको प्रमाणित हुन्छ । त्यसै गरि चङ्गाको विश्व इतिहास खोतल्यौ भने इसापूर्व २०० मा चीनमा भेटिन्छ । यसरी हजारौ वर्ष पहिले खेल्न शुरु भएको पिङ तथा उडाउन थालिएको चङ्गा हाम्रो दशैको कथामा कसरी गाँसियो होला भन्ने प्रश्न रुमल्लिनु स्वभाविकै हो ।

May be an image of 6 people and grass

चङ्गाको आगमन चीनबाट नै भएको प्रमाणित भएको छ । वि.सं. ४६० ताका बुद्ध सम्बन्धी अध्ययन गर्न लुम्विनी आइपुगेका फाहियान तथा वि.सं. ७५७ मा बौद्ध दर्शन सम्बन्धी अध्ययन गर्ने उद्धेश्यले नालन्दा विश्व बिद्यालय आइपुगेका चीनिया तिर्थयात्री हुयन साङको आगमन संगै नेपाल तथा भारतमा चङ्गा भित्रिएको अनुमान गरिएको छ । हुयन साङ करिव १३ वर्ष भारत तथा नेपालमा नै बसेको हुँदा पनि उनको नेपाल भारत बसाइमा चङ्गा भित्रिएको अनुमान बलियो भएको आकलन गर्न सकिन्छ । शुरुमा दुरी नाप्न तथा सन्देश पठाउन प्रयोग गरिने चङ्गा पछि मनोरञ्जनको खेलको रुपमा विकास भयो ।

तर पिङ भने गीतगोविन्दको रचनाले पनि प्रचलित हुन गएको थियो । १२औ शताव्दीमा जयदेवले रचना गरेको गीतगोविन्दमा पहिलो पटक राधाको चर्चा तथा राधा कृष्ण झुलाको वर्णन गरिएको थियो । राधा पूर्णरुपमा जयदेव कृत गीतगोविन्दको काल्पनिक पात्र हुन् । तर धार्मिक आस्था बोक्नेहरु राधाको जन्मदिन समेत मनाउने गर्दछन् । यसरी झुला अर्थात पिङको प्रवेश भारत तथा नेपालमा भएको थियो । आखिर दशैसंग यसको सम्बन्ध किन रहन गयो त । यो नै सोचको विषय हुन आउँछ ।

May be an image of 4 people

पिङसँग प्रत्यक्ष रुपमा मनोरञ्जन गाँसिए पनि यो खेल स्वास्थ्यसंग पनि गाँसिएको छ । पिङ खेल्दा शरिर स्फुर्त र ताजगी रहन्छ । साथै शरिरका माँसपेशीहरु सबै अन्य खेलमा झै चलायमान हुन्छ । साथै पिङ खेलले पाचनमा पनि मद्दत गर्नुका साथै मस्तिष्कलाई पनि चुस्त बनाउँछ । पिङमा खुट्टाको सहायताले केही उल्टो दिशामा गएर शरिरलाई अगाडि धकेल्दा वा कुनै अन्य ब्यक्तिको सहायताले अगाडि धकेल्दा यसको विपरित गुरुत्वको बलले अगाडि पछाडी हुन मद्दत गर्दछ । साथै हरेक पटक शरिरलाई अगाडि धकेल्ने प्रयत्न गर्दा त्यति नै पछाडि धकेलिन्छ र पिङ मच्चिदा अझ रोमाञ्चित हुने गर्दछ ।

चङ्गाको कुरा गर्नुपर्दा भने यसको उडानले मन मस्तिष्कलाई पनि चङ्गा झै उडानमा उडेको अनुभूती दिने गर्दछ । सबैभन्दा बढी रोमाञ्चित चङ्गा चेतमा हुने गर्दछ । अर्काको चङ्गा चेत गर्दा खुशीले मन पुलकित हुने गर्दछ भने आफ्नो चङ्गा अन्यले चेत गर्दा भने मन दुखित हुने गर्दछ । चङ्गा उडाउँदा शरिर फुर्तिलो हुने गर्दछ । उमेर ढल्केकाहरु पनि चङ्गा उडाउने समय फुर्तिला देखिन्छन् । त्यसैले नेपाली शब्दकोषमा चङ्गा शब्दलाई बिशेषणको रुपमा फुर्तिलो भन्ने पनि जनाउने गर्दछ ।

May be an image of 4 people, child, street and text

दशैसंग यि दुइको सम्बन्धको कुरा गर्नुपर्दा पहिले दशै पर्वको ऋतुको चर्चा गर्नु उपयुक्त हुन्छ । भारतीय उपमहाद्वीपमा वर्षलाई ६ भागमा बिभाजन गरिएको हुन्छ । हरेक दुइ महिनाको एक ऋतु हुने गर्दछ । जसमा चैत्र बैशाखलाई बसन्त, जेठ असारलाई ग्रीष्म, साउन भदौलाई वर्षा, असोज कार्तिकलाई शरद, मंसिर पुसलाई हेमन्त तथा माघ फागुनलाई शिशिर ऋतु भन्ने मानिन्छ । यी छ ऋतुहरुमा सबैभन्दा उत्तम ऋतु नै शरद ऋतुलाई मान्ने गरिन्छ ।

साउन भदौको वर्षात तथा गर्मीबाट शितलताको शुरुवात यहि ऋतुमा हुने गर्दछ । जाडो शुरु नहुदै र गर्मीको समाप्ती पछिको समशितोष्ण मौसम नै शरद ऋतुको विशेषता हो । यस मौसममा चल्ने मन्द हावाले चङ्गा उडाउन निकै सहज हुन्छ । तसर्थ पनि यहि मौसममा चङ्गा उडाउने प्रचलन बढेको मान्न सकिन्छ । साथै चाडको माहौलमा पारिवारिक जमघट हुने तथा बालबालिकाहरु पनि बढि फुर्सदिलो हुने हुँदा पनि खेलको लागि पर्याप्त समय पाउँछन् ।

May be an image of 3 people
चङ्गा उडाउनु अहिले जस्तो सहज पहिले थिएन । अचेल चङ्गा उडाउन मन लाग्यो भने छिमेकी देशहरुबाट आयातित बिभिन्न आकार प्रकारका चङ्गा, लट्टाइ तथा धागोहरु बजारमा खरिद गर्न पाइन्छ । किन्यो उडायो कति सहज छ । तर ४०(५० वर्ष अगाडि चङ्गा उडाउनको लागि सामग्रीको तैयारी हप्तौ अगाडि देखि गर्नु पर्दथ्यो ।

भुतमाली ब्वयकेगु भनेपछि केटाहरु जम्मा हुन्थे । सामग्रीहरु जम्मा गर्न सबै सक्रिय हुन्थे । सामग्री जुटाउन नसक्ने केटाहरु पनि रमाइलो हेर्न सरिक हुन्थे । आबश्यकता अनुसारको नेपाली कागज ल्याउने एकजना, बाँस वा निगालोको सिन्का बनाउने एकजना, धागो बनाउन तथा लट्टाइ बनाउन भने साथीहरु मिलेर नै गर्दथे । शुरुमा आबश्यक आकारको नेपाली कागज काटेर निगालो वा बाँसको मोटो आकारको सिन्का तैयार गर्नुपर्दथ्यो ।

May be an image of 3 people, child and text

चारपाते आकारमा काटिएको नेपाली कागजमा धनु आकारमा बाँसको सिन्का टाँस्नु पर्दथ्यो । टाँस्नको लागि तैयारी गमहरु नपाउने त्यो समय भात वा पिठोको माडले टास्ने काम हुन्थ्यो । धागोलाई पनि माजा हाल्नको लागि शिशाको टुक्राहरुलाई मसिनो धुलो बनाएर त्यो धुलो शिशालाई पिठो तथा शरेससंग मजाले पकाएर माड जस्तै बनाउनु पर्दथ्यो । सो माड जस्तो माजालाई धागोमा दल्नु पर्दथ्यो । यसको लागि मन्दिर वा रुखमा घुमाएर धागो बेर्दै माजा दलिए पछि केही समय सुक्नको लागि छोड्नु पर्दथ्यो । यसरी माजा हालेको धागो बलियो र धारिलो हुन्थ्यो जसले गर्दा अरुको चङ्गा चेत गर्न सहज हुन्थ्यो ।

यसरी तैयार भएको चङ्गा केही बेर थोरै उडाएर चङ्गा सिधा भएको नभएको जाँचिन्थ्यो । यदि बाङ्गो अर्थात एकातर्फ ढल्केर उडेमा चङ्गालाई ग्वाँख राखेर सिधा बनाउनु पर्दथ्यो । यसरी पूर्ण रुपमा तैयार भएको चङ्गा आकाशमा उडाए पछि केटाहरुको खुशियालीको सिमा नै हुदैनथ्यो । यसपछि छिमेकी टोलका केटाहरुले उडाएको चङ्गा चेत गर्न मेहनत शुरु हुन्थ्यो । चङ्गा चेत भयो भने हावामा बटारिदै खस्न थालेको चङ्गा लिन आकाश तर्फ हेर्दै केटाहरुको हुल नै भाग्दथे । यो फेरी अर्को रमाइलो हुन्थ्यो । यसरी भाग्ने क्रममा चोटपटक लाग्दा पनि वास्तै नगरि भागिरहन्थे ।

May be an image of 7 people

तर पिङमा भने केही भिन्न हुने गर्दछ । पिङ भने ठूलाहरुले सामुहिक रुपमा बनाउने गरिन्छ । पिङमा मच्चिने ठूला साना सबै हुने गर्दछ । पिङमा मजाले मच्चिएर आएपछि भोक मज्जाले जाग्ने तथा भोज खाएर पिङ खेलिएमा खाएको मज्जाले पच्ने हुँदा पनि पिङको आबश्यकताको महसुस दशैमा बिशेष हुन्थ्यो । साथै ठिटा ठिटीहरुको जिस्किने तथा जिस्काउने खेल पनि पिङ भएको मैदानमा नै हुन्थ्यो । यसरी पिङ खेल्ने मैदानमा भेटिएका ठिटा ठिटीको कतिपय अवस्थामा प्रेम भइ बिबाह समेत हुने गर्दथ्यो । यसरी पिङको मैदान मन परेको खोज्न र हेर्न आउने स्थल पनि बन्ने गर्दथ्यो । नेपालमा किसिम किसिमका पिङहरु बनाउने गरिन्छ ।

लिङ्गे पिङ -दुइ तिर लामा लामा बाँसहरु गाडेर त्यसमाथि दुबै तिर बराबर मिलाएर बाँधिएको गरालामा डोरी झुन्ड्याएर त्यसमा झुलेर खेलिन्छ । यस किसिमको पिङमा एक जना कहिले काँही दुइजनासम्म खेल्न सकिन्छ । यस किसिमको पिङ रुखको बलियो हाँगामा डोरी बाँधेर पनि बनाइन्छ ।

रोटे पिङ – दुइ वटा बलियो खाँबोहरु दुइ तिर गाडेर त्यसमा दुइवटा काठलाई + को रुपमा दुबै तिर मिलाएर बनाइएको दुइ जोडीलाई दुइ तिर मिलाएर बिचबाट गोलो गरि घुम्ने बनाइन्छ । जसमा चार वटा झुला बनाइन्छ । यस किसिमको पिङ बनाउन समय लाग्ने, धेरै जनाको सहयोग चाहिने तथा सामग्री पनि धेरै चाहिने हुन्छ ।

May be an image of 8 people

यो पिङमा धेरै जनाले एकै पटक रमाइलो संग खेल्न पाउँछ । यो पिङ लिङ्गे पिङमा झै रोमांचित हुने अवसर भने यसमा हुदैन । यो पिङ नेपालमा नेपाली कै आविश्कार पनि भन्ने गरिन्छ । अचेल यस प्रकारका पिङहरुको आधुनिक स्वरुप सरकस तथा मेलाहरुमा देख्न सकिन्छ । यस पिङलाई चर्खे पिङ पनि भन्ने गरिन्छ । (सुनिल उलकको फेसबुकबाट साभार गरिएको )

May be an image of 3 people and flute

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार  १२ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।