भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड रुपैयाँ बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ ।
जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरुप आज १६ करोड रुपैयाँ बराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।
भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री मन्त्री खड्कालाई हस्तान्तरण गरिएको हो । आज हस्तान्तरित सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन् ।
भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा मन्त्री खड्कालाई हस्तान्तरण गरे ।
आगामी दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने दूतावासले आइतबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । छिमेकीका नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकालाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाइएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया