सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा


लामो समयदेखि अलपत्र परेको सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा अघि बढेको छ । तराई पहाड जोड्ने गरी निर्माण थालिएको यो सडकको बागलुङ खण्डको काम मङ्सिर लागेयता द्रुत गतिमा अघि बढेको हो ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्डमा ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसकेको थियो । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको थिएन । सरकारले सडक स्तरोन्नतिका लागि गत वर्ष ६० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

गत वर्ष बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–९ फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतिको सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत वर्ष कात्तिकमा स्वच्छन्द\ओमबुद्ध जेवी काठमाण्डौंले २३ करोड रुपैयाँमा ३० महिनामा सक्ने गरी कामको जिम्मा लिएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ ।

लामो समयदेखि काममा नलागेको निर्माण कम्पनी स्थानीयस्तरबाटै दबाब बढेपछि अहिले कामले गति लिएको हो । उक्त सडक खण्डअन्तर्गत पर्ने बुर्तिबाङ–ढोरपाटन खण्डमा निर्माण कम्पनीले तीन स्थानमा पहरा काट्ने, नाली निर्माण र सडक फराकिलो बनाउन थालेको छ ।

बुर्तिबाङ लक्ष्मीकुण्ड मोटरबल पुलदेखि ढोरपाटन क्षेत्रतर्फ २२ किलोमिटर सडक स्ट्यान्डर्ड ग्राभेलिङको जिम्मा पाएको स्वच्छन्द ओम बुद्ध जेभीले ढोरपाटन जान वैकल्पिक सडक निर्माण गरी कामलाई तीव्रता दिएको स्थानीय खिमबहादुर बिकले बताए ।

निर्माण कम्पनीले धमाधम काम सुरु गरेपछि अब सडक बन्ने आशा पलाएको उनको भनाइ छ । बाह्रै महिना ढोरपाटन घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भन्दै बाटोका कारण सास्ती भोगेको बताए । बाटो राम्रो बनेपछि स्थानीय र पर्यटकलाई सहज हुने उनी बताउँछन् ।

निर्माण कम्पनीले बुर्तिबाङ बजार नजिक, ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको बतासेडाँडा–९ को सुप्राङ क्षेत्रमा ठूला–ठूला पहरा फोड्ने र सडक फराकिलो बनाउने काम गरिरहेको निर्माण कम्पनी स्वच्छन्द\ओमबुद्ध जेवीका प्रतिनिधि दीपेश लामाले बताए ।

कूल एक सय ९१ किलोमिटर मध्य बागलुङ खण्डमा मात्रै ६१ मिलोमिटर सडक पर्छ । त्यसमध्ये चार किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पर्ने हुँदा कालोपत्र भइसकेको छ । त्यसबाहेक ५७ किलोमिटर सडक निकै साँघुरो र जोखिमपूर्ण छ । गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तु खण्डमा कामले गति लिए पनि बागलुङ खण्डमा खासै काम हुन सकेको छैन । सडकको ट्र्याक आर्थिक वर्ष २०७२\०७३ मा खुलेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।