‘चोकोफन’ उत्पादक सुजल फुड्सको वार्षिक आम्दानी २ अर्ब बढी


व्यापारिक घराना लक्ष्मी ग्रुपको लगानी रहेको सुजल फुड्सले आर्थिक वर्ष २०२३ मा २ अर्ब ३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०२२ मा १ अर्ब ८९ करोड २० लाख सञ्चालन आम्दानी गरेको ‘चोकोफन’ उत्पादक कम्पनीको आम्दानी आर्थिक वर्ष २०२३ मा ७.७१ प्रतिशतले बढेको हो ।

कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको अन्य वित्तीय सूचांकमा समेत सकरात्मक प्रभाव परेको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहित कम्पनीको नाफा आव २०२३ मा कुल सञ्चालन आम्दानीको ६.५ प्रतिशत रहेको छ । जुन यस अघि आव २०२२ मा ५.३ प्रतिशत थियो ।

सन् १९९५ मा स्थापना भएको कम्पनीले वाफर, ललिपप, टफी तथा विभिन्न किसिमका क्यान्डीहरुको उत्पादन गर्दै आएको छ । कम्पनीको फ्ल्यागसीप उत्पादन चोकोफन हो जुन सन् १९९९ मा लन्च भएको थियो । सन् १९९९ देखि उत्पादन सुरु भएको चोकोफन हालसम्म पनि नेपाली बजारमा प्रख्यात छ ।

कम्पनीका देशभर २३० बढी डिलर संस्थाहरु छन् । जसबाट कम्पनीले आफ्ना उत्पादनहरुको बिक्री वितरण गर्दै आएको छ । कम्पनीका दुई उत्पादन प्लान्टहरु पोखरामा अवस्थित छन् ।

कम्पनीमा गणेश बहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निरन्जन श्रेष्ठ र निराकार श्रेष्ठको १७\१७ प्रतिशत लगानी रहेको छ । बाँकी १५ प्रतिशत सेयर अन्य ३ जनाको रहेको छ ।

कम्पनीले ८८ करोड ७७ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले १२ करोड ७७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र ७६ करोड बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले ए ४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ पुस २०८०, आइतबार  १२ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।