जाजरकोट भूकम्पबाट पशुपंन्छीमा १० करोडको क्षति


कर्णाली प्रदेश सरकारले गत कात्तिक १७ गते जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट १० करोड रूपैयाँको पशुपंन्छी क्षति भएको तथ्याङ्क प्रस्तुत गरेको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रको सहकार्यमा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘विपद्पश्चात् हरित पुनःस्थापना’ विषयक सरोकारवालासँगको छलफल कार्यक्रममा कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

जसअनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ । जहाँ एक हजार ५५३ गोठ भत्कँदा किसानको ५ करोड ५० लाख रूपैयाँ क्षति भएको छ । त्यस्तै, गाई बाख्रा, भैँसी, बङ्गुर लगायतका ५१३ पशु चौपायको मृत्युले २ करोड ५० लाख रूपैयाँको क्षति भएको प्रवक्ता कठायतले जनाए ।

त्यस्तै, जाजरकोटका १५२ घरका १ हजार ४८ घार नष्ट हुँदा १ करोड १९ लाख माहुरी र महमा क्षति भएको छ जनाइएको छ । त्यसैगरी, ८८ मेट्रिक टन खाद्य नष्ट हुँदा ३८ लाख रूपैयाँ क्षति भएको उनले बताए । भूकम्पले १९ हजार २६२ घर पूर्ण क्षति भएको जनाइएको छ । एक सय वर्गमिटरमा पाल टाँगेर बस्दा १८२ हेक्टर जमिनको गहुँतोरीमा क्षति पुगेको र त्यसबाट ४८० मेट्रिक टन खाद्य उत्पादन कमी आएको तथ्याङ्कमा उल्लेख छ ।

भूकम्प प्रभावित जिल्लाका पालिकालाई साविकको अवस्थामा लैजान पशुपंन्छी तथा खोर व्यवस्थापनमा करिब १० करोड रूपैयाँ, सडक, खानेपानी, सिँचाइ लगायत  १५० योजनाका लागि ४ करोड ५० लाख रूपैयाँ र माहुरी उत्पादन कार्यक्रममा १ करोड बजेट प्रस्ताव गरिएको प्रवक्ता कठायतले बताए ।  

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ पुस २०८०, बुधबार  ०६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।