एउटै गाउँपालिकाबाट छ करोडभन्दा बढीको अदुवा बिक्री


रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए । गाउँपालिका भित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुुरी रहेका र पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ ।

एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उनले जानकारी दिए । प्रत्येक किसानले गाउँबाटै एक क्विन्टललाई चार हजार रुपैयाँका दरले बिक्री गरेका छन् । अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ ।

व्यावसायिकरूपमा अदुवाखेती गरेका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख रुपैयाँ आम्दानी गरेको बताए । विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दै आएका छन् । यस वर्ष उत्पादन भएको साढे तीन क्विन्टल बीउका लागि र १२ क्विन्टल प्रतिक्विन्टल रु चार हजारदेखि आठ हजारका दरले बिक्री गरेकोे उनले बताए ।

त्रिवेणी–४ खुम्चेरीका ५५ वर्षीय कृषक हरिबहादुर खड्काले यस वर्ष अदुवा राम्रो उत्पादन भएको जानकारी दिए । तीस वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट एक लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताए । अदुवा गाउँबाटै प्रतिक्विन्टल चार हजार रुपैयाँ र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्न्विन्टल आठ हजाार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म बिक्री भएकामा उनी खुसी छन् ।

“पहिले एक क्विन्टल अदुवाबाट सात क्विन्टल उत्पादन गरिन्थो, उमेर पनि ढल्किँदै गयो अहिले त एक क्न्विन्टल अदुवाबाट तीनदेखि चार क्विन्टलसम्म उत्पादन गर्ने गरेको छु”, उनले भने । यस वर्ष बीउका लागि १२ क्विन्टल अदुवा भण्डारण गरेर राखेको किसान खड्काले बताए । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ पुस २०८०, बुधबार  ०८ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।