नेपाली सेयर बजारमा यी हुन् सबैभन्दा धेरै सेयर मूल्य भएका पाँच कम्पनी

0
Shares

नेपालको धितोपत्र बजारमा सबैभन्दा धेरै सेयर मूल्य रहेका पाँच कम्पनीहरुमा युनिलिभर नेपाल, राष्ट्रिय बीमा कम्पनी, बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराई र साल्ट ट्रेडिङ्ग कम्पनी रहेका छन् ।

१ . नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूमध्ये नेपाली सेयर बजारमा सबैभन्दा धेरै सेयर मूल्य रहेको कम्पनी युनिलिभर नेपाल लिमिटेड हो । नेप्सेमा ‘यूएनएल’ संकेतमा कारोबार हुँदै आएको कम्पनी उत्पादनमुलक समुहमा सूचीकृत छ । चैत १५ बिहीबारमा प्रतिकित्ता सेयर मूल्य ३९ हजार ८०० रूपैयाँ प्रतिकित्ता छ । चालू आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्म यसको प्रतिसेयर आम्दानी २ हजार ११३ रूपैयाँ ७९ पैसा रहेको छ । कम्पनीको कुल बजार पुँजीकरण दोस्रो बजारमा ९ लाख २० हजार ७ हजार कित्ता सूचीकृत रहेको कम्पनीको बजार पुँजीकरण ३६ अर्ब ६४ करोड रूपैयाँ छ । गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित १५८० प्रतिशत नगद लाभांश दिएको यस कम्पनीले दोस्रो त्रैमासमा ४२ करोड १० लाख रूपैयाँ खुद नाफा कमाएको छ ।

२. उत्पादनमुलक समुहमा सूचीकृत बहुर्राष्ट्रिय कम्पनी कोकाकोलाको स्थानीय कम्पनी बोटलर्स नेपाल बालाज दोस्रो धेरै सेयर मूल्य हुने कम्पनी हो । यस कम्पनीको नेप्सेमा ‘वीएनएल’ संकेतमा कारोबार हुने गरेको छ । बिहीबाार कम्पनीको प्रतिकित्ता मूल्य १८ हजार ३०० रूपैयाँ छ । चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रूपैयाँ रहेको यस कम्पनीको दोस्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी १५५ रूपैयाँले ऋणात्मक छ । गर्मी सिजनमा धेरै ब्यापार हुने सेयर पेय पदार्थ उत्पादक कम्पनीको पहिलो ६ महीनामा ब्यापारभन्दा खर्च अधिक हुने गरेको छ । बोटलर्स नेपाल बालजुले ६ महिनामा १५ करोड १५ लाख रूपैयाँ नोक्सानी व्यहोरेको छ । जगेडा कोषमा ५ अर्ब ५२ करोड ८४ लाख रूपैयाँ सञ्चित छ । प्रतिसेयर नेटवर्थ ३ हजार १२० रूपैयाँ रहेको छ । अघिल्लो वर्ष लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिएको कम्पनीले गत वर्ष भने लगानीकर्ताको हात खाली बनाएको थियो ।

३. नेपाल स्टक एक्सचेन्जमा तेस्रो ठूलो सेयर मूलय रहेको कम्पनी सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी हो । ‘आरबिसिएल’ संकेतमा सेयर कारोबार हुँदै आएको यस कम्पनीको बिहीबार १३ हजार ५०० रूपैयाँ १० पैसा कायम भएको छ । दोस्रो बजारमा कम्पनीको २६ लाख ६६ हजार ३६५ कित्ता सेयर सूचीकृत छ । राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको मूल्य पनि प्रतिकित्ता १० हजार ७०० रूपैयाँ छ । कम्पनीमा १७ लाख ७६ हजार २९६ कित्ता संस्थापक सेयर छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार यसको प्रतिसेयर आम्दानी ३२० रूपैयाँ ४८ पैसा छ । लामोसमयदेखि लेखापरीक्षण हुन नसकेको यस कम्पनी संस्थागत सुशासनमा भने कमोजर छ । कम्पनीले विगत ७ वर्षदेखि लेखापरीक्षण गरेको छैन । नियामकीय प्रावधान अनुसार चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउँनुपर्ने भएपनि हालसम्म कम्पनीको पुँजी २६ करोड रूपैयाँ मात्र छ ।

४. नेपालको सेयर बजारमा बहुर्राष्ट्रिय कम्पनी कोकाकोलाको अर्को स्थानीय कम्पनी ‘बोटलर्स नेपाल तराई’ को सेयर मूल्य चौथो धेरै रहेको छ । दोस्रो बजारमा ‘बीएनटी’ संकेतमा सेयर कारोबार हुँदै आएको यस कम्पनीको अन्तिम सेयर मूल्य १३ हजार १०० रूपैयाँ छ । यस कम्पनीको नेप्सेमा १२ लाख १० हजार कित्ता सेयर सूचीकृत छ । चुक्ता पुँजी १२ करोड १० लाख रूपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १२३ नोक्सानीमा छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बोटलर्स नेपाल (तराई) ७ करोड ४१ लाख रूपैयाँ घाटा व्यहोरेको हो । कम्पनीको जगेडा कोषमा ३ अर्ब ६८ करोड रूपैयाँ सञ्चित छ । यस अवधिमा प्रतिसेयर नेटवर्थ ३ हजार १७३ रूपैयाँ छ । गत वर्ष लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश दिएको छ ।

५. साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड नेपाली सेयर बजारमा पाँचौं धेरै सेयर मूल्य रहेको कम्पनी हो । कम्पनीको बिहीबार दोस्रो बजारमा प्रतिकित्ता ४ हजार ४८० रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ । चुक्ता पुँजी २७ करोड ८८ लाख ८४ हजार ३०९ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साल्ट ट्रेडिङ्गले ३ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ३५ करोड ७७ लाख १४ हजार रुपैयाँ रहेको छ । पुससम्म कम्पनीको प्रति सेयर नेटवर्थ ४१९ रुपैयाँ ३५ पैसा छ । गत वर्ष लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।