लेखा समितिले धितोपत्र बोर्डसँग माग्यो रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे प्रष्टीकरण

0
Shares

संघीय संसदको सार्वजनिक लेखा समितिले एक साताको समय दिएर नेपाल धितोपत्र बोर्डसँग रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सम्बन्धमा प्रष्टिकरण माग गरेको छ ।

सर्वसाधारणलाई झुक्याएर वित्तीय विवरण प्रकाशन गरी महङ्गो मूल्यमा बुक बिल्डिङ्गबाट प्राथमिक सेयर निष्कासन गर्न लागेको उक्त कम्पनीको आईपीओ अनुमतिदेखिका विषय समेटेर लेखा समितिले मंगलबार बोर्डलाई पत्र लेखेर पाँच ओटा बुँदामा जवाफ माग गरेको हो ।

कम्पनीको प्राथमिक सेयर निष्कासन सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूले सार्वजनिक गरेको समाचारले समितिको ध्यानाकर्षण गराएको उल्लेख गर्दै लेखा समितिले रिलायन्सको सेयरको आधार मूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रकृया के हो?सो सम्बन्धमा जवाफ माग गरेको छ ।

यसैगरी पत्रमा रिलायन्सले आफ्नो वित्तीय विवरणमा गत वर्ष प्रति सेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेकोमा अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी २ रुपैयाँ ८ पैसामा झर्नुमा समेत आशंका व्यक्ति गरेको छ । उसले भनेको छ, “यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने ?”

कम्पनीको तर्फबाट संस्थागत र सर्वसाधारण लगानीकर्तालाई जारी गरिएको आह्वान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आव २०७९।८० मा ५४.३४ रुपैयाँ र आव २०८०।८१ मा ३२.९० पैसा रहेकोे उल्लेख गरेकोमा चैत मसान्तसम्म २.०८ मात्र देखिएको हुँदा प्रक्षेपण र वास्तविकतामा सामञ्यस्यता नदेखिएको भन्दै के भएको हो त्यसका सम्बन्धमा पनि प्रश्न उठाइएको छ ।

त्यस्तै, बुक बिल्डिङ प्रकृयाका लागि बोलकबोल गर्ने योग्य संस्थागत लगानीकर्ताको रिलायन्स र सञ्चालकसँग स्वार्थ बाझिएको–नबाझिएको बारे पनि प्रश्न सोधिएको छ। साथै बुक बिल्डिङ्गमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए सो सम्बन्धमा समेत विस्तृत विवरण पेश गर्न भनिएको छ ।

समितिले रिलायन्सको प्रति सेयर आम्दानी तीन वर्षमा घट्दै गइरहेको हुँदा सर्वसाधारण लगानीकर्ताको सुरक्षाबारे धितोपत्र बोर्डका धारणा के हो भन्दै प्रश्न गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।