रिलायन्सको आईपीओ तत्कालका लागि रोक्न उच्च अदालतको अन्तरकालीन अन्तरिम आदेश

0
Shares

उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन तत्कालका लागि रोक्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ ।

हरिबहादुर केसी सहितका लगानीकर्ता रिलायन्सको आईपीओ रोक्नुपर्ने माग गर्दै दायर गरेको मुद्दामा उच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश दिएको हो । अदालतले अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्न दुबै पक्षलाई छलफलका लागि साउन १४ गते बोलाएको छ । त्यतिन्जेल आईपीओको प्रक्रिया रोकिएको हो ।

वित्तीय विवरणमा गढबढी गरेर सर्वसाधारणलाई झुक्याएर आईपीओ जारी गर्न लागको देखिएपछि संसद्को सार्वजनिक लेखा समितिले रिलायन्सको आईपीओको सम्बन्धमा पाँच बुँदामा स्पष्टिकरण सोधेको छ । प्राथमिक सेयर निष्कासनबारे चासो राखेर लेखाले पत्र काटेपछि बुधबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति बैठकले रिलायन्सको आईपीओ रोक्न निर्देशन दिइसकेको छ ।

रिलायन्सले आज बिहीबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर निष्कासन गर्न लागेको थियो । हरिबहादुर केसी सहितका लगानीकर्ताले रिलायन्सको प्राथमिक सेयर निष्कासन तत्काल रोकी फेरि मूल्यांकनपछि मात्रै मूल्य तय गर्न माग गर्दै अर्थ मन्त्रालय सहित नेपाल धितोपत्र बोर्ड विरुद्ध रिट निवेदन दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।