संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा नयाँ पर्यटकीय गन्तव्य र सम्भावनाको खोजी गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल पर्यटन बोर्ड २५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले नयाँ ठाउँ पहिचानसँगै नेपालको कला, संस्कृति र सभ्यतालाई पर्यटनसँग जोड्न आवश्यक रहेको बताए ।
अहिले राम्रो काम गरे भविष्यमा त्यसले नतिजा दिने उल्लेख गर्दै मन्त्री किरातीले आफू पदमा रहुन्जेल पर्यटन क्षेत्रको विकासका लागि जिम्मेवार भएर काम गर्ने बताए । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पर्यटनका नयाँ गन्तव्य र सम्भावना खोज्न लागिपरेको दाबी पनि उनको छ ।
“गाउँ–गाउँमा नयाँ पर्यटकीय गन्तव्य खोज्नु छ । हाम्रा जात्राको ब्रान्डिङ गर्ने, स्थानीय स्वाद र खानेकुरा, वेशभूषा, स्थानीय रहनसहनको विकास गरेर पर्यटन क्षेत्रसँग जोड्न सक्नुपर्ने आवश्यकता छ”, उनले भने, “हामीले सम्पदा गाउँ, सांस्कृतिक गाउँको अवधारणा सुरु गरेका छौँ । नेपालीपन झल्कन गरी पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्छ ।”

नेपाल प्राकृतिक स्रोत र संस्कृतिमा धनी भएका कारण यी दुई क्षेत्रको समायोजनसहितको पर्यटन विकास आवश्यक रहेको मन्त्री किरातीले बताए
। कोभिड महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र अहिले लयमा फर्किएको र धेरै ठूलो समस्या भोगेर पनि राष्ट्रिय लक्ष्य पूरा भएको उनको भनाइ छ ।
सोही कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पर्यटनका बोर्डका अध्यक्ष डा दीपक काफ्लेले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रको विकासमात्र नभई अन्तरराष्ट्रिय क्षेत्रमा समेत चिनाउने अग्रणी संस्थाको भूमिका खेलेको बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया