अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन : अर्थमन्त्री


अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरुले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताएका छन् ।

चितवन उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएकाले उद्योगी–व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिए ।

अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेका बताउँदै उनले व्यवसाय गर्नेहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ भने । “उद्योगी व्यवसायी नै नकारनात्मक सोचका साथ हिँडेपछि कसरी अर्थतन्त्रमा सुधार हुन्छ ”, उनले प्रश्न गरे । नियोजित किसिमले झुट्टा प्रचार हुँदा समाजमा नकारात्मक प्रभाव परेको उनले बताए ।

अर्थतन्त्रका समस्या पूर्णरूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै गएको उनको भनाइ थियो । उनले भने, “अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन । पूँजीगत खर्च बढाउनेतर्फ सरकार लागेको छ ।” सरकारले अनुत्पादक क्षेत्रको बजेट नियमन गर्न लागेको उनले बताए ।

बैंकहरुको लगानी शेयर बजार र जग्गामा धेरै हुँदा अहिले समस्या देखिएको भए पनि यसलाई खुकुलो गरिएको बताउँदै उनले भने “सबै लगानी अनुत्पादक क्षेत्रमा भएपछि राष्ट्र बैंकले कठोर मौद्रिक नीति बनायो जसका कारण समस्या आयो । अहिले यसलाई बिस्तारै खुकुलो बनाउँदै लगिएको छ ।”

फरक प्रसङ्गमा अर्थमन्त्रीले निर्माण व्यवसायीलाई सरकारले माघअघि नै भुक्तानी दिने र माघपछि सबैको दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । विप्रेषणको भरमा मात्र अर्थतन्त्र चलायमान नभएको बताउँदै उनले त्यसमा राजश्वको पनि योगदान रहेकोे बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ पुस २०८०, शनिबार  १७ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।