ईपीएसको उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सबैले सहभागिता जनाउन पाउने


कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सबैले सहभागिता जनाउन पाउने भएका छन् ।

श्रम सचिव केवलप्रसाद भण्डारी र नेपालका लागि कोरियाली राजदूत टी–योङ पार्कको टोलीबीच श्रम मन्त्रालयमा भएको छलफलको निष्कर्ष बमोजिम सोमबार वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग (एचआरडी)को बैठकले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सबैले सहभागिता जनाउन पाउने व्यवस्था हो ।

उक्त व्यवस्थासँगै अब पानीजहाजसम्बन्धी कामको परीक्षामा फेल भएका नेपाली पनि उत्पादनमूलक क्षेत्रको परिक्षामा सामेल हुन पाउनेछन् । परिक्षामा समावेश नभएकाहरु उच्च अदालत पुगेपछि अदालतले परीक्षामा सहभागी गराउन आदेश दिएकोले अदालतको आदेश बमोजिम निषेश गरिएको क्षेत्रलाई पनि परिक्षामा समावेश गर्न लागिएको वैदेशिक रोजगार विभागका प्रवक्ता डण्डुराज घिमिरेले नोटबजारसँग बताए ।

विवादपछि विभागले पुस ११ गतेदेखि भाषा परिक्षामा समावेश गरिनुपर्ने माग सहित अदालत पुगेका १८ जनालाई आवेदन दिन समय दिएको थियो भने विवादले उग्ररुप लिएपछि पुस १३ गतेदेखि २० गतेसम्म सबैले भाषा परिक्षामा समावेश हुन आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । उक्त समयमा आवेदन दिने अब भाषा परिक्षामा समावेश हुन पाउने छन् ।

परीक्षा तीन चरणमा सम्पन्न हुने प्रवक्ता घिमिरेको भनाइ छ । पहिलो चरणको परीक्षा सकिन कम्तीमा ४७ दिन लाग्नेछ । भाषा परिक्षाका लागि १ लाख ६४ हजारले आवेदन लिएको घिमिरेको भनाइ छ । जसमध्ये पहिलो चरणमा ४७ हजार, दोस्रो तरणमा ८० हजार र तेस्रो चरणमा ३७ हजारको परिक्षा गर्न लागिएको प्रवक्ता घिमिरेले बताए ।

गत मंसिर १९ मा कोरियाको पत्रअनुसार विभागले सन् २०२४ का लागि उत्पादनमूलक कामदारका रूपमा लैजान सकिने १५ हजार ८ सय ४८ जना उम्मेदवारको रोस्टर छनोट गर्न भन्दै आवेदन दिनेको योग्यता तोकेको थियो । जसमा फौजदारी अभियोगमा सजाय पाएका, कोरियाबाट निष्कासन (डिपोर्ट) भएका, कोरियामा ई–नाइन र ई–टेन भिसामा ५ वर्षभन्दा कम बसेका र सन् २०२३ भित्र कोरियाको भाषा परीक्षामा सामेल भएकाहरू सहभागी हुन नपाउने प्रावधान थियो ।

जुन प्रावधानले २०२३ मा नै पानीजहाजसम्बन्धी परीक्षामा सहभागी ३२ हजारलाई उत्पादन क्षेत्रका लागि खुलाइएको पुस २ देखि ६ सम्मको भाषा परीक्षामा आवेदन दिन रोक लगाइएको थियो । आवेदन दिन रोक लगाइएको भन्दै परिक्षामा समावेश नगरिएकाहरु प्रदर्शनमा उत्रिएका थिए । उक्त प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर दुई युवाले ज्यान गुमाएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार  ०८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।