राष्ट्रिय योजना आयोगले आगामी ५ वर्ष भित्रमा ५ वर्ष र सो भन्दामाथिको उमेर समुहको साक्षरता दर शतप्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ । १६औँ योजनामा शिक्षा र स्वास्थ्य विषयका बारेमा छलफल गर्ने क्रममा आयोगले साक्षरता दर शतप्रतिशत पुर्याउने प्रसताव गरेको हो ।
आयोगका अनुसार ५ वर्ष र सो भन्दामाथिको उमेर समुहको साक्षरता दर अहिले ७६.२ प्रतिशत मात्रै छ । १६औँ योजना अवधि अर्थात् आर्थिक वर्ष २०८५–८६ सम्ममा यसलाई शतप्रतिशत पुर्याउने आयोगले लक्ष्य लिएको हो । यसैगरी १६औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य समेत अघि सारेको छ ।
अहिले सहरी क्षेत्रका विद्यालयहरुमा शिक्षण सिकाइमा इन्टरनेटको पहुँच पुगे पनि अधिकांश विद्यालयहरुमा शिक्षण सिकाइका लागि इन्टरनेटको पहुँच पुग्न सकेको छैन । यस्तो दर हाल ३५.९ प्रतिशत रहेकोमा ५ वर्षमा शतप्रतिशत पुर्याउने लक्ष्य आयोगले राखेको हो ।आयोगले तयार गरेको मस्यौदामा समेटिएको यो विषयले अन्तिम रुपमा पाउन भने बाँकी रहेको आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले बताए । उनका अनुसार छलफल अन्तिम चरणमा पुगेको छ । आएका सुझावहरु समेत समेटेर आयोगले योजनालाई अन्तिम रुप दिनेछ ।
शिक्षा क्षेत्रको बजेट ६ प्रतिशत विन्दुले बढाउने प्रस्ताव
हाल सरकारले शिक्षा क्षेत्रमा कुल बजेटको १०.९५ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी ५ वर्षमा आयोगले शिक्षा क्षेत्रको बजेटलाई बढाएर १७ प्रतिशत बनाउने लक्ष्य लिएको छ । १६औँ योजनाको मस्यौदामा उल्लेख भए अनुसार हाल प्रारम्भिक बालविकास र शिक्षाको अनुभव सहित कक्षा १ मा भर्ना हुने बालबालिकाको संख्या ७६.९ प्रतिशत रहेको छ । यसलाई बढाएर शतप्रतिशत पुर्याउने आयोगको लक्ष्य छ ।
यसैगरी, आधारभुत तह कक्षा १–८ मा पुरा गर्ने दर ७७.१ प्रतिशत रहेकोमा यसलाई ९१ प्रतिशत पुर्याउने, माध्यमिक तहको कक्षा १२ सम्मपुग्ने दर ३५.६ प्रतिशत रहेकोमा ५० प्रतिशत पुर्याउने र उच्च शिक्षा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा हाल २०.७२ प्रतिशत रहेकोमा यसलाई बढाएर २०८५–८६ सम्म ३० प्रतिशत पुर्याउने १६ औँ योजनाको मस्यौदामा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रका केके विषय समेटिए ?
आयोगका स्वास्थ्य हेर्ने सदस्य डा. आरपी विच्छाका अनुसार ५ वर्षे आवधिक योजना भित्र गम्भीर प्रकृतिका रोगको विश्वसनीय विशिष्ट स्वास्थ्य उपचार स्वदेशमा नै हुन सक्ने गरी स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ ।
सबै नागरिकमा स्वास्थ्यबीमा पु¥याउने लक्ष्यसहित आयोगले स्वास्थ्य सेवालाई सर्वव्यापाी, पहुँचयुक्त र समतामुलक बनाउने लक्ष्य राखेको उनले जानकारी दिए । उनका अनुसार १६ औं योजनामा विद्यमान स्वास्थ्यबीमा कार्यक्रमको समग्र पुनरावलोकन गरी समयानुकूल संशोधन एवम् परिमार्जन गरी सबै नागरिकलाई स्वास्थ्यबीमामा आवद्ध गराउने लक्ष्य सरकारले लिने भएको छ । विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवालाई समेत स्वास्थ्यबीमामा समेट्ने लक्ष्य योजनामाको मस्यौदामा उल्लेख छ ।
जिल्ला स्तरका अस्पतालको स्तरोन्नति गरी न्यूनतम विशेषज्ञ सेवाउपलब्ध गराउने र सबै प्रदेशमा प्रेषण अस्पताल निर्माणको लक्ष्य समेत १६ औं योजनाले तय गर्ने भएको छ । त्यसैगी आगामी ५ वर्षमा पूर्ण खोप लगाउने बालबालिकाको संख्या ९५ प्रतिशत पु¥याउने लक्ष्य रहेको छ । यस्तो संख्या अहिले ८० प्रतिशत रहेको छ ।
अहिले स्वास्थ्यबीमा कार्यक्रममा नविकरण दर ३९ प्रतिशत रहेकोमा ५ वर्ष भित्र यो ९० प्रतिशत लैजाने लक्ष्य रहेको छ । ३० मिनेटको दूरीमा स्वास्थ्य संस्था भएका घरधुरी ७७ रहेकोमा यसलाई बढाएर ८६ पु¥याउने १६ औं योजनाको लक्ष्य छ । पाँचवर्ष मुनिका बच्चामध्ये जन्मदर्ता गरिएका बालबालिका शतप्रतिशत पु¥याउने सरकारको लक्ष्य छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया