संसदीय समितिका सभापति र दलका नेतासँग आयोगले लियो सुझाव


राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ ।

१६औँ योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार गरी आइतबार आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरुसँग सुझाव लिइएको हो ।

सुझाव छलफल कार्यक्रममा नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रीका सांसद एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक एवं पूर्वमन्त्री पदम गिरी, एमाले सचेतक महेश बर्तौता, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, राप्रपाका सांसद ज्ञानेन्द्र शाही लगायतका दल प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

दलका प्रतिनिधिहरुले सबैले स्वीकार्ने र पूरा हुने लक्ष्यहरु १६औँ योजनामा समावेश गर्न सुझाव दिएका छन् । छलफलमा आयोगका सबै सदस्यहरु, सदस्य सचिव र अन्य अधिकारीहरु सहभागी थिए । आयोगका सहसचिव महेश भट्टराईले १६औँ योजना सम्बन्धी प्रस्तुतिकरण राखेपछि छलफल प्रारम्भ भएको थियो ।

यसअघि आइतबार नै आयोग सदस्य डा. जयकान्त राउनको अध्यक्षतामा प्रतिनिधि सभाको संसदीय समितिका सभापतिहरुसँग सुझाव लिइएको आयोगका प्रेस सल्लाहकार रोयल आचार्यले जानकारी दिए । संसदीय समितिका सभापतिहरूले योजनालाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाई समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गरी समृद्धि हासिल गर्नुपर्ने विषयमा जोड दिएका छन् ।

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जैविक तथा सामाजिक विविधतालाई सम्बोधन गर्दै कृषि, वन, सिमेन्ट तथा फलामजन्य उद्योग, निर्माण लगायतका क्षेत्रमा केन्द्रिय रहनुपर्ने धारणा सभापतिहरुको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार  १२ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।