विदेशबाट फर्केर कृषि पेसा, मासिक ७० हजारसम्म आम्दानी


बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा पाँच वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै छन् । उनले गाईभैँसी, बाख्रा, कुखुरापालन गर्नुका साथै व्यावसायिक तरकारीखेती पनि गरिरहेका छन् ।

भोजबहादुरलाई उनकी श्रीमतीले साथ दिइरहेका छन् । बोहरा दम्पतीले दुधालु भैँसी तीन, एउटा गाई, माउबाख्रा पाँच र कुखुरा १४ वटा पालेका छन् । बाह्रै महिना दूध बिक्री गर्ने योजनाका साथ पालेका गाईभैँसीले अहिले प्रशस्त आम्दानी दिइरहेका भोजबहादुरले बताए । दूधका साथै गोबरलाई मलका रुपमा बेचेर थप आम्दानी गरिरहेका उनको भनाइ थियो ।

बिहान उज्यालो नहुँदै बोहरा दम्पती गोठमा पुग्छन् । गोठभरिका गाईभैँसी र बाख्रालाई दानापानी दिने, दूध दुहुने, दूध बिक्रीका लागि बजार लैजाने, बारीमा खनजोत गर्नेलगायत कामले दैनिकी बित्ने गरेको बोहरा दम्पती बताउँछन् ।

भोजबहादुरले तरकारीखेतीका लागि छ वटा प्लाष्टिकका घर निर्माण गरेका छन् । प्लाष्टिकका घरमा फल्ने तरकारीका लागि आवश्यक मल गोठमा बाँधेका पशुचौपायाबाट आउने गरेको भन्दै बारीमा गोलभेँडा, बन्दा, काउली, घिरौँला, करेलालगायत तरकारी फलाइरहेको उनले जानकारी दिए ।

चार वर्ष माल्दिभ्स र एक वर्ष साउदी अरेबियामा काम गरेर स्वदेश फर्किएका भोजबहादुरले तरकारी खेती गर्न थालेको १० वर्ष भयो । मासिक ५० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँ आम्दानी हुने उनले जानकारी दिए । उनका अनुसार मासु, दूध, मल तथा तरकारी मुख्य आम्दानीको स्रोत भएको छन् ।

“विदेशमा १४ घण्टा खटेर मुस्किलले ४० हजार कमाइ हुन्थ्यो । अहिले परिवारसँगै बसेर, दैनिक १० घण्टा काम गर्दा विदेशमभन्दा बढी आम्दानी भइरहेको छ”, भोजबहादुरले भने,“छोराहरुको पढाइ खर्च, जीविकोपार्जन यही पेसाबाट भइरहेको छ । स्वदेशमा काम गर्ने योजना हुनुपर्छ, विदेशमाभन्दा बढी आम्दानी गर्न सकिन्छ ।”

बोहराको तरकारीखेतीको सिको गर्नेले अहिले गाउँमा एक\दुई वटा प्लाष्टिकका घरमा बनाएर तरकारीखेती गरिरहेका जैमिनी नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । यसरी खेती गरेर सामान्य घरखर्च चलाउनेहरु पालिकामा बढिरहेका उनको भनाइ थियो । बोहराले स्थानीय बाँस प्रयोग गरी प्लाष्टिकका घर बनाएको भन्दै उनले स्थानीय जातका तरकारी खेतीलाई प्राथमिकता दिने गरेको शर्माले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार  १३ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।