नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो । अत्याधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा गत शनिबार उडान भएको थिएन ।
पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई राहत मिल्ने र पर्यटनको क्षेत्रमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने,“याममा भारतीय पर्यटकका लागि कम्तीमा एउटा उडान भयो भने पनि त्यसले पर्यटकीय चहलपहल बढाउन मद्दत पुग्छ ।”
उडानबाट कैलाश मानसरोवर जाँदा त्यहाँको आर्कषक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ । पर्यटन व्यवसायी डा ओम मिश्रले लामो समयको प्रयासपछि हिमाली उडान सुरु भएकामा खुसी व्यक्त गर्दै नेपालगञ्ज पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको बताए । उनले भने, “यहाँको पर्यटनमा कायापलट भएको छ र यो सहर पर्यटकीय सहरका रूपमा परिणत भएको छ ।”
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले उडानको सफलतासँगै आर्थिकरूपमा नेपालगञ्जको भविष्य जोडिएको बताए । उनले यहाँको पर्यटन प्रवर्द्धनका लागि कायापलट हुने उल्लेख गर्दै नेपालगञ्ज–पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गरे । अर्का पर्यटन व्यवसायी विकास मिश्रले कैलाश मानसरोवरका लागि आफूले सकेजति योगदान गर्ने आश्वासन दिँदै कम खर्चमा मानसरोवर पुग्न पाएकामा भारतीय नागरिक खुसी भएका बताए ।
उनले भने,“कैलाश पर्वत घुम्नका लागि यो एउटा महत्त्वपूर्ण अवसर हो ।” होटल व्यवसायी पुनम भुसालले भने,“यसले हाम्रो पर्यटन उद्योगलाई फस्टाउन सहयोग गर्ने छ । ” पहिलो दिन मानसरोवर गएर बसेर भोलिपल्ट कैलाशको दर्शन गर्न सकिने बताइएको छ । रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया