चैतमा १० प्रतिशतले ब्याजदर घटाउने योजनामा बैंकर, प्रभु र कृषिले बचतको घटाउन नसक्ने

0
Shares

बैंकहरुले आगामी चैत महिनाका लागि १० प्रतिशत ब्याजदर घटाउने तयारी गरेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएसंगै बैंकहरुले निक्षेपको ब्याजदर घटाउने भएका हुन ।

वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएपछि बैंकहरुले स्थायी निक्षेप सुविधाको प्रयोग गर्दै आएका छन् । बैंकहरुले गत बुधबार मात्रै ३ प्रतिशत ब्याजदरमा ४३ अर्ब ५५ करोड रुपैयाँ निक्षेप राखेका छन् । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण बैंकहरुले कर्जा लगानी अपेक्षा गरे अनुसार बढाउन सकेका छैनन । त्यसले गर्दा पनि अधिक तरलताको अवस्था सृजना भएको हो । रेमिट्यान्स आप्रबाहमा देखिएको सुधारले बैंकमा निक्षेप बढेको भएपनि कर्जा लगानी सुस्त हुँदा कोषको लागत बढेको छ । स्रोतको लागत घटाउन पनि बैंकहरुले चैतमा निक्षेपको ब्याजदर घटाउने तयारी गरेको एक बैंकरले बताए ।

“राष्ट्र बैंकले नीतिगत दरहरु नघटाउँदासम्म धेरै घटाउन मिल्ने अवस्था छैन,” ती बैंकरले भने,“केन्द्रीय बैंकले पनि ब्याजदरमा अस्वभाविक उतारचढाव नआओस भनेर काम गरेको देखिन्छ ।” राष्ट्र बैंकले ब्याजदरको घटवढलाई नियन्त्रण गर्न न्यूनतम ३ प्रतिशत हुनु पर्ने व्यवस्था गरेको उनले बताए । केन्द्रीय बैंकले अधिकतम तरलता व्यवस्थापनका लागि स्थायी निक्षेप सुविधा प्रदान गर्दै आएको छ । सर्वसाधारणबाट थोरै ब्याजमा निक्षेप लिने र केन्द्रीय बैंकमा स्थायी निक्षेप राखेर ब्याजदरको मार्जिन आम्दानी गर्ने अवस्था नहोस भनेर पनि बचतको ब्याजदर ३ प्रतिशत भन्दा तल कायम गर्न नदिएको ती बैंकरको भनाई छ ।

केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधामा ब्याजदर करिडोरको तल्लो सीमा अर्थात निक्षेप संकलन दर तीन प्रतिशत कायम गरेको छ । त्यसैगरी केन्द्रीय बैंकले नीतिगत दर ५.५ प्रतिशत र बैंक दर ७ प्रतिशत तोकेको छ । सो अनुसार केन्द्रीय बैंकले तरलता खिच्ने र दिने गर्छन । बैंक तथा वित्तीय संस्थामा भएको तरलताले ब्याजदरको अवस्था बताउँछ ।

केन्द्रीय बैंकले सम्पत्तिको मूल्य बढ्ने तथा अनुत्पादन क्षेत्रमा लगानी बढ्न सक्ने जोखिमका कारण नीतिगत दर घटाउने पक्षमा छैन । त्यसकारणले पनि बैंकहरुले बचत र निक्षेपको अन्तरलाई कायम गरेर ब्याजदर घटाउने हुँदा आगामी दिनमा मुद्दतिको ब्याजदर घटेपनि बचतको ब्याजदर घटाउने धेरै स्पेस छैन ।

केन्द्रीय बैंकको एकिकृत निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदरको औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गर्न सक्नेछन । ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर यस निर्देशनले तोकेको सीमा भन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतम मध्ये एक दर कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने व्यवस्था छ । यसले गर्दा पनि बैंकहरुलाई ब्याजदर घटाउन तल्लो सीमा कायम भएकाले सहज छैन ।

केन्द्रीय बैंकले बैंकहरुले ब्याजदरमा अनावश्यक चलखेल गर्न नसकुन भनेर आधा दर्जन नीति लागु गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई आधार दर गणना गर्ने सुत्र नै बनाइदिएको छ भने कर्जा र निक्षेप विचको ब्याजदर अन्तर ४ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । त्यसैगरी बचतको ब्याजदर धेरै तल नहोस भनेर न्यूनतम तीन प्रतिशत कायम गरेको छ । बैंक तथा वित्तीय संस्थाले बचतमा न्यूनतम ३ प्रतिशत भन्दा थोरै दिए स्थायी निक्षेप सुविधा पाउदैनन । त्यसैगरी बचत र मुद्दति निक्षेपको ब्याजदर अन्तर अधिकतम ५ प्रीतशत भन्दा धेरै हुनु हुदैन भने बचत खाताका फरक योजनामा ब्याजदर अन्तर २ प्रतिशत भन्दा धेरै हुनु हुदैन ।

केन्द्रीय बैंकका निर्देशनको पुर्ण पालना गर्दै मिल्ने सम्मको ब्याजदर घाटाउने ती बैंकरले बताए । “ब्याजदर थप घट्नका लागि केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत नीतिगत दर घटाएको खण्डमा ब्याजदर थप घटाउन सहज हुन्छ,” ती बैंकरले भने,“नीतिगत दर नघट्दा सम्म बैंकहरुले धेरै ब्याजदर घटाउन सक्ने अवस्था छैन ।”

केन्द्रीय बैंकले बचत र निक्षेपको अधिकतम ब्याजदर अन्तर ५ प्रीतशत कायम गरेको छ । हालसम्म बैंकहरुले सोही सीमासम्मको अन्तर कायम गर्दै ब्याजदर निर्धारण गरेका छन् । अब भने बैंकहरुले ५ प्रतिशतको अन्तर घटाउदै बचतको ब्याजदर ३ कायम गरी मुद्दती निक्षेपको मात्र ब्याजदर घटाउने अवस्था रहन्छ । सो अनुसार प्रभु बैंक र कृषि विकास बैंकले बचतको ब्याजदर घटाउने अवस्था छैन । दुबै बैंकको बचतको ब्याजदर केन्द्रीय बैंकले तोकेको तल्लो सीमा ३ प्रतिशत रहेको छ । ती बैंकले बचतको ब्याजदर थप घटाएको खण्डमा स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउदैनन । त्यसैले यी बैंकले बचत र मुद्दती बिचको अन्तर घटाउदै मुद्दतीको ब्याजदर मात्र घटाउन सक्छन । त्यसैले चैत महिनाका लागि यी दुइ बैंकको बचतको ब्याजदर घट्ने छैन ।

चैत महिनामा १० प्रतिशत बचतको ब्याजदर घटाउँदा बैंशाख महिनामा थप ५ बैंक अर्थात स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र एनआइसी एसिया बैंकले बचतको ब्याजदर घटाउन सक्ने अवस्था रहदैन । त्यसका लागि केन्द्रीय बैंकले नीतिगत दरहरुमा परिवर्तन गर्नुपर्ने हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार  १६ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।