बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक गतिविधिमा आएको सुस्तताका कारण कर्जा लगानी बढाउन नसक्दा केन्द्रीय बैंकमा निक्षेप राख्न थालेका छन् । कर्जा लगानी विस्तार हुन नसक्दा बढेको तरलतलाई बैकहरुले केन्द्रीय बैंकमा निक्षेप राखी अल्पकालिन आम्दानीमा केन्द्रीत भएका हुन् ।
पछिल्लो समय बैंकिङ क्षेत्र बिरोधी गतिविधि बढेसँगै बैंकहरु कर्जा लगानी विस्तारमा उत्साहित छैनन् । त्यसैगरी कर्जा र धितोको मूल्याङकन नमिलेको आधारमा बैंकरहरु पक्राउ परेपछि बैंकहरु कर्जा लगानीमा थप निरुत्साहित भएका छन् । जसका कारण अधिक तरलता बढेर एक खर्बभन्दा धेरै पुगेको छ । आइतबार मात्रै केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाले एक खर्ब २३ अर्ब रुपैयाँ ४ दिनका लागि निक्षेप राखेका छन । यसरी निक्षेप राख्दा बैंकहरुले ३ प्रतिशत ब्याजदर पाउँछन् ।
अधिक तरलताले अन्तर बैंक दर घट्छ । अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल जान नदिने गरी तरलता व्यवस्था गर्ने काम केन्द्रीय बैंकले गर्छ । केन्द्रीय बैंकले तरलता खिच्ने र अन्तर बैंक ब्याजदर घट्न नदिन स्थायी निक्षेप सुविधा (एसडिएफ) मार्फत प्रणालीको पैसा केन्द्रीय बैंकले खिच्छ । सोही क्रममा आइतबार एक खर्ब २३ अर्ब रुपैयाँ बरावरको तलरता केन्द्रीय बैंकले खिचेको हो ।
बैंकहरुले कर्जा लगानी विस्तार गर्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या आएको केन्द्रीय बैंकका निर्देशक डा. रामशरण खरेलले बताए । “विगत २ महिनादेखि वित्तीय प्रणालीमा अधिक तरलता छ,” उनले भने, “पछिल्लो समयमा केन्द्रीय बैंकमा करिब एक खर्बभन्दा धेरै तरलता खिचेको पैसा बक्यौता हुने गरेको छ ।” वित्तीय प्राणलीमा अधिक तरलता भएका कारण बुधबार, बिहीबार र शुक्रबार अन्तर बैंक कारोबार पनि नभएको उनले बताए ।
पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन नै गर्न नसकिने खालको नभएको केन्द्रीय बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले बताए । आर्थिक गतिविधिमा सुधार आएसँगै कर्जाको माग बढ्ने बताउँदै श्रेष्ठले भने, “बजारमा माग कम भएका कारण आयात घटेको छ । अहिले प्रि कोभिडको अनुपातमा आयात भैरहेको छ । आर्थिक गतिविधि बढ्ने बित्तिकै अहिलेको तरलता प्रयोगमा आउन समय लाग्दैन ।”
सरकारी खर्च, निमार्ण क्षेत्रमा गतिविधि बढेपछि अहिलेको अधिक तरलता प्रयोग हुने उनको भनाई छ । सानो अर्थतन्त्र भएकाले थोरै हुँदा अभाव भएको जस्तो देखिने र बढी हुदाँ छचल्किएको जस्तो देखिएको उनको भनाई छ । “अहिलेको सवा खर्बको अधिक तरलता अर्थतन्त्रमा माग बढेको खण्डमा केही होइन,” उनले भने, “तरलता अभाव र अधिक हुने अवस्था समेत धेरै लामो समयसम्म चलेको छैन । त्यसैले व्यवस्थापन पनि गर्न सकिने भएकाले आत्तिनु पर्ने देखिँदैन ।”
त्यसका साथै पछिल्लो समयमा बैंक विरोधी गतिविधिहरु बढेकाले पनि कर्जामैत्री बातावरण नभएको उनको बुझाई छ । अर्थतन्त्र आफैं सुस्त भएको र बैंक विरोधि गतिविधि बढेको अवस्थाले बैंकहरु लगानी बढाउन उत्साहित नभएको उनी बताउँछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया