नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य समायोजन भएको छ। स्वाबलम्बन लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेको हो भने लाइफ इन्स्योरेन्स कर्पोरेशनले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेको हो।
नेप्सेले स्वाबलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात लघुवित्तको शेयरमूल्य ९४० रुपैयाँ ९२ पैसा कायम भएको छ।
त्यस्तै, नेप्सले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को ८८.४५१६८ प्रतिशत हकप्रद समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार १०१ रुपैयाँ ८५ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समयोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा स्वाबलम्बनको शेयर प्रतिकित्ता १ हजार ७५ रुपैयाँ र लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १ हजार ९८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
आइतबार यही मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गते, शुक्रबार, लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल काठमाडौँमा बिहान ११ बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यता, लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८८४५१६८ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।







