नाडा र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबीच सहकार्य


नेपालको अटोमोवाइल क्षेत्रको सबलीकरणका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सहकार्य गर्ने भएका छन् । माघ २२ गते दुई पक्षका बीचमा अटो क्षेत्रको सबलीकरण गर्ने उद्धेश्यले सहमति भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) सँगको सहकार्यल नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमती भएको नाडाले जनाएको छ । रोजगारी सिर्जना गर्न आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरु सृजनागरी आवश्यक सुधार गर्ने, दुवै संस्थाले नेपालको अटोमोबाइल उद्योगको वृद्धिका लागि नविनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने सहमतिमा उल्लेख छ । त्यसैगरी पारस्परिक सहकार्य मार्फत उद्योगको आवश्यकताहरु र कर्मचारीहरुको क्षमता बीचको खाडल पूरा गर्ने, लेवल एक बाट तालिमको शुरुआत गर्ने र क्रमसः स्तर वृद्धि गर्दै लैजाने, आवश्यकता अनुसार पाठयक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएण्टेशन दिलाउने र तालिम तथा पाठयक्रम निर्माणका लागि एनएभिटीले एनएडिएसंग सहमतीगरी अघि बढने सहमतिमा उल्लेख छ ।

उक्त छलफलमा नाडाकातर्फबाट अध्यक्ष करणकुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ र महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थित थियो । दुई निकायहरु विच भएको पारस्परिक सहमतीले अटोमोबाइल क्षेत्रमा योग्य र सक्षम श्रमिकहरुको आपूर्तिमा निरन्तरता र सहजता आउने अपेक्षा नाडाको छ ।

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार  १८ : १४ बजे