सरकारको आम्दानी भन्दा खर्च ९५ अर्बले धेरै, पुँजीगत खर्च १९ प्रतिशतमा सीमित


सरकारको आम्दानी भन्दा खर्च धेरै हुने अभ्यासले चालु आर्थिक वर्षको माघ महिनामा पनि निरन्तरता पाएको छ । चालु आर्थिक वर्षको माघ महिनासम्ममा सरकारले आम्दानी भन्दा ९५ अर्ब ११ करोड ७८ लाख रुपैयाँ धेरै खर्च गरेको हो ।

अर्थतन्त्रमा देखिएको समस्याले राजस्व संकलनमा कमी आएसँगै विगत केही वर्ष देखि सरकारको आम्दानी भन्दा खर्च धेरै हुदै आएको छ । चालु आर्थिक वर्षको माघ महिनासम्ममा सरकारको कुल प्राप्ति ६ खर्ब ५९ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको माघसम्ममा सरकारको प्राप्तिमा राखेको लक्ष्यको ४४.८३ प्रतिशत मात्र हो ।  सो अवधिमा सरकारको कुल खर्च ७ खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । यो रकम कुल खर्च लक्ष्यको ४०.५८ प्रतिशत हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक आवको माघ महिनासम्ममा ५ खर्ब २२ अर्ब चालुखर्च गरेको छ । यो खर्च विनियोजित बजेटको ४५.८२ प्रतिशत हो । सरकारले चालु आवका लागि ११ खर्ब ४० अर्ब चालु खर्चका लागि बजेट व्यवस्था गरेको छ ।

चालु आवको सो अवधिमा सरकारले ६८ अर्ब ४१ करोड रुपैयाँ मात्र पुँजीगत खर्च गरेको छ । यो पुँजीगत खर्च लक्ष्य १९.४२ प्रतिशत मात्र हो । चालू वर्षमा सरकारले पुँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

यो अवधिमा सरकारले वित्तीय व्यवस्थाअन्तर्गत सरकारी संस्थानमा ऋण तथा विभिन्न दातृ निकायहरूलाई ब्याज तथा साँवा भुक्तानी अन्तर्गत जम्मा एक खर्ब ६३ अर्ब ८१ करोड खर्च गरेको छ । यो खर्च लक्ष्यको ४४.६ प्रतिशत हो । चालु आवमा सरकारले वित्तीय खर्चका लागि ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ छुट्याएको छ ।

चालु आवको माघसम्ममा सरकारले ५ खर्ब ६५ अर्ब ६४ करोड राजस्व तथा ८ अर्ब ८२ करोड वैदेशिक अनुदान मार्फत प्राप्ति गरेको छ । यसबाहेक सरकारले सो अवधिमा गैर कर प्राप्ति ७७ अर्ब २१ करोड रुपैयाँ गरेको छ भने अन्य शीर्षकमा ८ अर्ब ५ करोड प्राप्त गरेको छ ।

सरकारले माघ सम्म संकल गरेको राजस्व लक्ष्यको ४५.२९ प्रतिशत हो । सो अवधिमा सरकारले कर राजस्व कर लक्ष्यको ४४.०५, गैर कर लक्ष्यको ५७.१५ र अनुदान लक्ष्य १६.८७ प्रतिशत हो । सरकारले कुल १८ खर्ब ६० अर्ब  बराबरको चालु आवको बजेटलाई अर्धवार्षिक समक्षका मार्फत घटाइ १६ खर्ब ९२ अर्बमा सीमित गरेको छ ।

 

प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार  १७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।