घट्यो असल कर्जाको ‘‘प्रोभिजनिङ’’, पेट्रोलियम सवारीको ऋण मूल्य अनुपात बढ्यो


नेपाल राष्ट्र बैंकले असल कर्जामा छुट्याउनु पर्ने नोक्सानी व्यवस्था घटाएको छ । केन्द्रीय बैंकले असल कर्जामा पनि १.१ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेमा घटाएर एक प्रतिशतमा झारेको हो । 

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत कर्जा नोक्सानी व्यवस्था घटाउने भने अनुसार सोमबार निर्देशक जारी गरेको छ । केन्द्रीय बैंकको निर्देशन अनुसार विद्युतीय सवारी र पेट्रोलियम सवारीको कर्जा टु बुक भ्यालु ६० प्रतिशत कायम गरेको छ । 

केन्द्रीय बैंकका अनुसार सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सवारी साधनका लागि सवारी साधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ । सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनलाई यो व्यवस्था लागू हुने निर्देशनमा उल्लेख छ ।

यसभन्दा अघि संस्थाले व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सो सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशत र व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा ८० प्रतिशतसम्म मात्र गर्नु पर्ने व्यवस्था थियो । 

साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको २ करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असूल उपर गरी देहायका सर्तहरूको अधीनमा रही कर्जाको पुनसंरचना तथा पुनरतालिकीकरण गर्न सकिनेछ । यस्तो पुनरतालिकीकरण र/वा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्छ । उपर्युक्त बमोजिम पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कर्जाहरुलाई असल वर्गमा वर्गीकरण गरी १.०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । स्पष्ट आधार बिना पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएको पाइएमा कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

एक वर्ष भन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरूमा प्रवाहित असल कर्जाहरूको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.०० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ । कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाको लागि पहिलो वर्ष ०.२५ प्रतिशत, दोस्रो वर्ष ०.५० प्रतिशत , तेश्रो वर्ष ०.७५ प्रतिशत र चौथो वर्षदेखि १.०० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ । 

त्सैगरी रेशम, जुट, कपास लगायतका कृषि खेती र व्यावसायिक रुपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किवी, ड्रयागन फ्रुट, कागती, लिची, एभोकाडो जस्ता फलपूmल खेतीका लागि प्रदान गरिएको कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत, दोस्रो वर्ष ०.६ प्रतिशत र तेश्रो वर्षदेखि १.०० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिनेछ । यसभन्दा अघि यस्ता कर्जामा १.१ प्रतिशत कर्जा नोक्सानी व्यवस्था छुट्याउनु पर्ने थियो । 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सँगै लघुवित्तका असल कर्जाको हकमा पनि सोही व्यवस्था हुने जनाएको छ ।

प्रकाशित मिति: १९ फागुन २०८१, सोमबार  १९ : १२ बजे