काठमाडौँ । नयाँ गभर्नर नियुक्तिको विषयले सरकार नै परिवर्तनको हल्ला चलिरहेका बेला अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
मंगलबार बिहान अर्थमन्त्री पौडेल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । पछिल्लो समय सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्तिकै विषयमा चिसोपना बढ्दै गएको छ ।
प्रतिपक्षी माओवादीले पनि यही विषयलाई राजनीतिक दाउपेच बनाउँदै सरकार परिवर्तनको कसरत गरिरहेको बुझिएको छ । कांग्रेस–एमालेबीच भागबन्डा हुँदा गभर्नर कांग्रेसको भागमा परे पनि प्रधानमन्त्री केपी शर्मा ओली आफैँ राख्ने तयारीमा छन् ।
सोही कारण कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई राजीनामा दिन लगाएको थियो । तर, प्रधानमन्त्री ओलीको चाहना भने कामु गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउने छ । सोही कारण ढुंगानाले हालसम्म भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् ।
यसअघि कामु गभर्नर ढुंगानालाई अर्थमन्त्री पौडेलले भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए । तर, अझै स्वीकृत भएको छैन ।
यस्तै, अर्थमन्त्री पौडेलले प्रचण्डसँग आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे पनि छलफल गरेका छन् । सोमबार मात्रै नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना गरेका थिए ।
आफू नेतृत्वको सरकारले सुरु गरेका राम्रा र उत्पादनमुखी कार्यक्रममा कैँची चलाएर सरकारले कुशासनको बाटो समातेको प्रचण्डको आरोप छ । नीति तथा कार्यक्रमले नागरिकमा कुनै आशा जगाउन नसकेको भन्दै आगामी बजेट पनि निराशाजनक आउने प्रचण्डको भनाइपछि अर्थमन्त्री उनलाई भेट्न खुमलटार पुगेका हुन् ।
प्रतिक्रिया