राजावादीले जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन गर्ने


काठमाडौं । राजावादीहरुले जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन गर्ने भएका छन् । राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको हो ।

राजसंस्था फर्काउने भन्दै गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक बनेको थियो । राजावादीको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । आगजनी तथा तोडफोडबाट प्रहरीका सवारी साधन ७ वटा, अन्य सरकारी कार्यालयका सवारी साधन १० वटा, संस्थानको सवारी साधन १, निजी सवारी साधन १८ र नम्बर नखुलेका सवारी साधन चारपाङ्ग्रे २७ र दुई पाङ्ग्रे सहित ६ वटा गरेर ६९ वटामा सवारी साधनहरूमा क्षति पुगेको थियो ।

प्रदर्शनकारीले व्यक्तिको घर ६ वटा, निजी संस्था २९, सरकारी कार्यालय ३, राजनीतिक दलका कार्यालय २ सहित ४० घर, संस्था र कार्यालयहरूमा क्षति पुगेको छ। प्रर्दशनकारी ३ महिलासहित ५४ जना घाइते भएका थिए ।

अब गरिने जनआन्दोलन भने शान्तिपूर्ण हुने बताइएको छ । राजसंस्था पुनस्र्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।
‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’

आउँदो जेठ १५ गतेबाट जनआन्दोलन सुरू गर्ने तथा राजसंस्था र हिन्दू राष्ट्र स्थापन नभएसम्म नटुंगिने उनीहरूको निर्णय छ । यो आन्दोलनमा बाह्य शक्तिहरुको संलग्नता नरहने सुबेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जेठ १५ गतेदेखि देशका विभिन्न भागहरुमा स्वतस्फुर्त जुलुस धर्ना लगायत जनप्रदर्शनहरु गर्न उनले अपिल गरेका छन् । आन्दोलनलाई सफल तुल्याउन प्रत्येक जिल्ला, पालिका तथा वडाहरुमा संयुक्त जनआन्दोलन समिति गठन गर्न उनको प्रस्ताव छ ।

राजावादीको एकता कसैले टुटाउन सक्दैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने बताएका छन् । बिहीबार राजधानीमा आगामी जेठ १५ गतेबाट जनआन्दोलन घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

‘राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन । कमजोर बनाउन सक्दैन । एकताबद्ध भएर हामी जाँदैछौं,’ अध्यक्ष नेपालले भने । काठमाडौंमा जेठ १५ गते लाखौंको संख्यामा मान्छे उपस्थित भएर प्रदर्शन हुने उनको दाबी छ । उनले गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या गरे ।

राजसंस्था स्थापना नभएसम्म आन्दोलन रोकिँदैन : नवराज सुवेदी

राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूहरूले घोषणा गरेको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।

उक्त आन्दोलन घोषणा गर्दै संयोजक सुवेदीले भनेका छन्, ‘२०८२ जेठ १५ देखि शुरू हुने यो आन्दोलन हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म टुंगिने छैन ।’ साथै, उनले आन्दोलनका बाँकी कार्यक्रमहरू उपयुक्त समयमा घोषणा हुने जानकारी गराए ।

 

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार  ०८ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।