काठमाडौँ । सेयर बजारमा जाने कर्जामा बैंकहरूले लचिलो नीति लिएका छन् । उनीहरूले ब्याजदर घटाएरै सेयर बजारमा लगानी बढाउन थालेका छन् ।
वैशाख महिनाका लागि धेरै बैंकहरूको सेयर कर्जाका लागि ब्याजदर एकल अंकमा छ । केही महिनादेखि नै सेयर बजारमा जाने कर्जाको ब्याजदर एकल अंकमा रहे पनि अहिले धेरै बैंकहरूले एकल अंकमै कर्जा दिइरहेका छन् ।
३ वटा बैंकको मात्रै सेयर कर्जामा अधिकतम ब्याजदर दोहोरो अंकमा छ । अन्य बैंकहरूको अधिकतम ब्याजदर पनि एकल अंकमै छ ।
अधिकांश बैंकको सेयर कर्जाको न्यूनतम ब्याजदर ६ देखि ८ प्रतिशतको बीचमा छ । यस्तै, दुइटा बैंकको सेयर कर्जाको न्यूनतम ब्याजदर ९ देखि १० प्रतिशतको बीचमा छ ।
सेयर कर्जाका लागि वैशाख महिनामा कृषि विकास बैंकको न्यूनतम ब्याजदर सबैभन्दा कम ६.३५ प्रतिशत छ । अधिकतमतर्फ सबैभन्दा कम ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको ७.१४ प्रतिशत छ ।
बैंकहरूले प्रकाशित गरेको ब्याजदरअनुसार सेयर कर्जाका लागि न्यूनतम ब्याजदर सबैभन्दा धेरै प्रभु बैंकको ९.३२ प्रतिशत छ । यस्तै अधिकतमतर्फ सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकको ११.९ प्रतिशत छ ।
प्रकाशित विवरणअनुसार कृषि विकास बैंकले सेयर कर्जाका लागि न्यूनतम ६.३५ र अधिकतम ८.३५ प्रतिशत ब्याजदर तोकेको छ ।
यस्तै, ग्लोबल आइएमई बैंकले न्यूनतम ६.३८ र अधिकतम ८.८८ प्रतिशतमा सेयर कर्जा दिँदा एभरेस्ट बैंकले न्यूनतम ६.४५ र अधिकतम ८.४५ प्रतिशत, सिद्धार्थ बैंकले न्यूनतम ६.५३ र अधिकतम ९.७८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ६.६४ र अधिकतम ७.१४ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिइरहेका छन् ।
यस्तै, सिटिजन्स बैंकले न्यूनतम ६.७६ देखि अधिकतम ९.७६ प्रतिशतसम्म ब्याजदरमा सेयर कर्जा दिँदा प्राइमले ६.९ देखि ११.९ प्रतिशतसम्म, नबिलले ६.९७ प्रतिशतदेखि ८.९७ प्रतिशतसम्म, माछापुच्छ्रेले ७.०२ देखि ९.०२ प्रतिशतसम्म, हिमालयन बैंकले ७.३ देखि ९.३ प्रतिशतसम्ममा यस्तो कर्जा दिँदै आएका छन् ।
यस्तै, एनआइसी एसिया बैंकले न्यूनतम ७.३१ देखि ९.३१ प्रतिशतसम्म, नेपाल बैंकले ७.३९ देखि ९.३९ प्रतिशतसम्म, सानिमा बैंकले ७.४८ देखि ९.४८ प्रतिशतसम्म, एनएमबी बैंकले ७.४९ देखि ९.४९ प्रतिशतसम्म ब्याजदरमा सेयर कर्जा दिइरहेका छन् ।
यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७.६ देखि ९.६ प्रतिशतसम्म, नेपाल एसबिआई बैंकले ७.७३ देखि ९.६ प्रतिशतसम्म, कुमारी बैंकले ९.१३ देखि १०.८८ प्रतिशतसम्म र प्रभु बैंकले ९.३२ देखि ११.३२ प्रतिशतसम्म ब्याजमा सेयर कर्जा दिएका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक र लक्ष्मी सनराइज बैंकले भने सेयर कर्जाका लागि ब्याजदर छुट्याएका छैनन् ।
बैंकहरूले ब्याजदर घटाएर सेयर कर्जा दिँदा सेयर कर्जा पनि बढ्दै गएको छ ।
राष्ट्र बैंकका अनुसार गत असारमा बैंक तथा वित्तीय संस्थाले ९० अर्ब ९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । जुन बढेर फागुनसम्ममा १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
गत असारको तुलनामा फागुनसम्ममा सेयर धितो कर्जा ३१.५ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । गत आवको ८ महिनामा यस्तो कर्जा वृद्धि १२.३ प्रतिशतमात्रै भएको थियो ।
गत असारदेखि फागुनसम्ममा सेयर धितो कर्जा २८ अर्ब ४० करोड रुपैयाँभन्दा बढी लगानी भएको तथ्यांकले देखाएको छ । जबकि गत आवको ८ महिनासम्ममा यस्तो कर्जा ९ अर्ब ३९ करोड रुपैयाँ हाराहारी मात्रै लगानी भएको थियो ।
चालु आवको फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.३४ प्रतिशत, विकास बैंकहरूको ८.४२ प्रतिशत र वित्त कम्पनीहरूको ९.३२ प्रतिशत छ । २०८० फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.७७ प्रतिशत, विकास बैंकहरूको १०.७१ प्रतिशत र वित्त कम्पनीहरूको १२.३३ प्रतिशत थियो ।
यस्तै, २०८१ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.४० प्रतिशत, विकास बैंकहरूको ९.७८ प्रतिशत र वित्त कम्पनीहरूको १०.५३ प्रतिशत छ ।
२०८० फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत, विकास बैंकहरूको १२.५२ प्रतिशत र वित्त कम्पनीहरूको १३.६१ प्रतिशत थियो । यसरी ब्याजदर घट्दै जाँदा सेयर बजारतर्फ जाने कर्जा बढ्न सहज भएको हो ।
अन्य क्षेत्रमा कर्जा प्रवाह अपेक्षित गतिमा नभइरहेको समयमा बैंकहरूले सेयर बजारतर्फ कर्जा प्रवाह बढाउन थालेका हुन् ।
सेयर बजारमा प्रवेश गर्ने तथा लगानी गर्नेका लागि प्रायः नीतिहरू लचिलो बनाइएको समयमा बैंकहरूले पनि सहजीकरण गर्दा कर्जा पनि बढ्दै गएको हो ।
प्रतिक्रिया