काठमाडौँ । बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका सूचना अधिकारी दुर्गबहादुर ओलीसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओलीसहित प्राविधिक दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा र वस्नेत निर्माण सेवा छेडागाड र सोका प्रोपराइटर शान्तबहादुर बस्नेतविरुद्ध समान २१ लाख ६३ हजार ८६५ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।
आयोगले पिपलकाँडा मेलगौरी सडकखण्ड निर्माणमा अनियमितता गरेको ठहर गरेको छ । निर्माण भएको २९०० मिटर सडकलाई प्रतिवेदनमा ३७०० मिटर उल्लेख गरेर भ्रष्टाचार गरेकाे आयोगकाे आराेप छ ।
मापदण्डविपरीत भएको कामलाई लुकाईछिपाई मापदण्डबमोजिम भएको भनेर कागजपत्र मिलाई भ्रष्टाचार गरेको आयोगको दाबी छ । उक्त योजनामा २१ लाख ६३ हजार ८६५ रुपैयाँ गैरकानुनी रुपमा लेनदेन गरी गाउँपालिकालाई नोक्सानी पुर्याएको आयोगले दायर गरेकाे आराेपपत्रमा उल्लेख छ ।
प्रतिक्रिया