वार्षिक करोडौँ रुपैयाँ दाँत कोट्याएरै सिध्याउछन्, नेपाली


काठमाडौँ । नेपालबाट वार्षिक करोडौँ रुपैयाँ दाँत कोट्याउने सिन्का (दातमझुरा) आयातमै बाहिरीने गरेको छ । भन्सार विभाको तथ्यांक हेर्दा दाँत कोट्याउनमै वार्षिक करोडौँ रुपैयाँ विदेशिने गरेको देखाएको हो ।

नेपालको व्यापार घाटा प्रत्येक वर्ष बढ्दै जादा यी र यस्तै सामान्य वस्तु तथा सेवाको आयातमा मात्रै करोडौँ रकम खर्च हुने गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालले ९८ हजार ४७ केजी दात कोट्याउने सिन्का ३ करोड ४५ लाख ८१ हजार रुपैयाँमा आयात भएको छ ।

यो अवधिमा सबैभन्दा बढी चिनबाट ९७ हजार ८८६ केजी दाँतमझुरा १ करोड ९३ लाख २६ हजार रुपैयाँमा आयात भएको छ । यस्तै भारतबाट १६० केजी दाँतमझुरा १ लाख ५३ हजार रुपैयाँमा आयात भएको छ । अमेरिकाबाट १ हजार रुपेयाँ बराबरको दाँतमझुरा आयात हुँदा जमर्नीबाट २६ हजार रुपैयाँको दाँतमझुरा आयात भएको छ ।

यस्तै गत आव २०८०\८१ मा ८४ हजार ३१५ केजी दाँतमझुरा २ करोड ७० लाख ९३ हजारमा आयात भएको विभागले उल्लेख गरेको थियो । उक्त आवमा पनि सबैभन्दा बढी चिनबाट २ करोड ६९ लाख ७४ हजार रुपैयाँको ८३ हजार ९३९ केजी दाँतमझुरा आयात भएको थियो । यस्तै भारतबाट २५६ केजी दाँतमझुरा १ लाख १५ हजार रुपेयाँमा आयात भएको थियो । थाइल्याण्डबाट १२० केजी दाँतमझुरा ४ हजार रुपैयाँमा आयात भएको थियो ।

विभागको अघिल्लो आर्थिक वर्ष २०७९\८० को तथ्यांक हेर्दा ३५ हजार ३९५ केजी दाँतमझुरा १ करोड १३ लाख ३७ हजार रुपैयाँको आयात भएको थियो । उक्त आवमा सबैभन्दा बढी चिनबाट ३५ हजार २०१ केजी दाँतमझुरा १ करोड १३ लाख ७ हजार रुपैयाँमा आयात भएको थियो ।

उक्त आवमा २२ हजार रुपैयाँको ६४ केजी दाँतमझुरा आयात भएको थियो । यसैगरि थाइल्याण्डबाट ७ हजार रुपैयाँको दाँतमझुरा आयात भएको थियो ।

नेपालमा दाँतमझुराको उत्पादन हुने भएपनि पर्याप्त मात्रामा नहूँदा विदेशबाट आयात हुने गरेको छ । नेपालमा केहि मात्रामा साना उद्योहरुले मात्र स्थानीय बाँसको प्रयोग गरेर दाँतमझुरा बनाउने गर्छन् । जुन उत्पादनले पर्याप्त भएको देखिदैन । जसले गर्दा वर्षेनी करोडौँ रुपैयाँ दाँत कोट्याउने सिन्का आयातमै बाहिरिने गरेको छ ।

 

प्रकाशित मिति: ११ जेठ २०८२, आइतबार  ११ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।