काठमाडौँ । नेपाल साइबर आक्रमणको उच्च निशानामा परेको देखिएको छ । साइबर थ्रेट म्यापका अनुसार नेपाल धेरै साइबर आक्रमण हुने मुलुकहरुको सूचीमा शीर्ष स्थानमा परेको हो ।
थ्रेट म्यापले नेपालपछि इथियोपिया, इन्डोनेशिया, भियतनाम र मंगोलियामा धेरै साइबर आक्रमण हुने गरेको देखाएको छ । थ्रेट म्यापका अनुसार एक महिनामा भएका साइबर आक्रमणको आधारमा यस्तो अवस्था देखिएको हो । पछिल्लो समय उद्योग, शिक्षा, दुरसञ्चार र सरकारी वेभसाइटमा बढी साइबर आक्रमण हुने गरेको छ ।
जर्मनी, अमेरिका, न्येदरल्याण्ड्स, चीन र सिंगापुरबाट सबैभन्दा बढी साइबर आक्रमण हुने गरेको थ्रेट म्यापले जनाएको छ ।
नेपालकोे डिजिटल पूर्वाधारमा पनि धेरै कमजोरीहरु रहेका छन । जसका कारण २०८१ चैत १३ गते रुसी ह्याकर समूह गुद्राले हेल्लो सरकारको वेभसाइट ह्याक गरेर ५० जीबी डाटा डार्क वेबमा बिक्रीमा राखेको थियो ।
नेपालका सरकारी वेबसाइटहरु सुरक्षाका दृष्टिकोणले कमजोर हुनु, समय समयमा अपडेट नगरिनु लगायत कारणले साइबर आक्रमण गर्नेहरुको निशानामा पर्ने गरेका छन् । यसले संवेदनशील डाटा चोरी हुने विभिन्न गैर कानुनी काम हुने सम्भावना अधिक हुने गरेको छ ।
आम नागरिकको हकमा पनि सामाजिक सञ्चालहरु फेसबुक, म्यासेन्जर लगायतमा साइबर आक्रमण गरेर बदनामी गर्ने, सेक्सटर्सन, ठगी बालशोषण जस्ता विभिन्न अनलाइन अपराधका घटनाहरु हुने गरेका छन ।
साइबर आक्रमणका विभिन्न तरिकामध्ये सर्वसाधारणलाई यस्ता माध्यमबाट फसाइने र डाटा चोरी गरेर आक्रमणकारीले सर्वसाधारणका सामाजिक सञ्जाल ह्याक गर्नेसम्म गरिरहेका छन् । यस्तो अवस्थामा सर्वसाधारणले पनि चाहिने मात्र सेवा चलाउने, जे पायो त्यही लिंकहरु क्लिक नगर्ने, विभिन्न किसिमका प्रलोभन दिने मेसेज तथा इमेल र विज्ञापनहरुमा क्लिक नगर्ने गर्नुपर्छ ।










प्रतिक्रिया