निजी आवास पुनः निर्माणका लागि १ करोड अनुदान


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय तनहुँले विपद् प्रभावित निजी आवास पुनः निर्माण र पुनस्थापनाका लागि १ करोड रुपैयाँ अनुदान रकम वितरण गरेको छ ।

कार्यालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा ६५ लाभग्राहीलाई सो रकम वितरण गरेको हो ।

पहिलो, दोस्रो र तेस्रो किस्ता गरी उक्त रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए। मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणअन्तर्गत लाभग्राहीहरूका घरहरू अनुगमन गरी अनुदान रकम वितरण गरिएको भण्डारीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयबाट ४४ लाख ५० हजार रुपैयाँ र विपद् पुनःनिर्माण र पुनःस्थापना मार्फत् ६५ लाख ५० हजार रुपैयाँ स्थानीय विपद् कोषमा निकासा गरिएको भण्डारीले जानकारी दिए ।

५ करोड राजश्व सङ्कलन

कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ करोड ८८ लाख २२ हजार ६ सय ७७ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । संस्था दर्ताबाट १६ लाख ६६ हजार ६ सय रुपैयाँ , हातहतियार नवीकरणबाट ५ लाख ५६ हजार ८ सय ७५ रुपैयाँ , राहदानीबाट ५ करोड ५४ लाख ३७ हजार ५ सय रुपैयाँ , न्यायिक दण्ड जरिवानाबाट १० लाख ९६ हजार ३ सय ४२ रुपैयाँ , प्रशासनिक दण्ड जरिवानाबाट १५ हजार रुपैयाँ , अन्य प्रशासनिक सेवा शुल्कबाट ५ हजार रुपैयाँ , सरकार सम्पत्तिको वहालको आयबाट ३३ हजार ९ सय ६० रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार  ११ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।