तराई मधेस क्षेत्रका ७ जिल्लाबाट मात्रै बाहिरिए २४.३ प्रतिशत युवा, धनुषा अग्रस्थानमा


काठमाडौँ । गहिरिँदो आर्थिक संकटले गर्दा मधेस क्षेत्रका युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भएका छन्। तराईका ७ जिल्लाबाट मात्रै बैशाखमा १८ हजार ९२५ जना रोजगारीको खोजीमा विदेश गएका छन् । जुन कुल वैदेशिक रोजगारीमा जानेको संख्याको २४.३ प्रतिशत हो ।

रोजगारीको अभाव, कृषिमा घट्दो आम्दानी र उद्योगहरूको न्यूनतम विकासले युवाहरूलाई वैकल्पिक रोजगारीको खोजीमा देशबाहिर जान बाध्य पारेको सरोकारवालाहरु बताउँछन् ।

धनुषा, महोत्तरी, सिरहा लगायतका जिल्लाबाट सयौंको संख्यामा युवाहरु विदेशिन थालेका छन् ।

नेपालमा तराई भेगका वासिन्दाको रोजाइमा वैदेशिक रोजगार पर्न गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको वैशाखमा धनुषाबाट सवैभन्दा धेरै बाहिरिएका छन् ।

वैशाखमा धनुषाबाट ४ हजार १८२ जना वैदेशिक रोजगारमा जानको लागि श्रम स्वीकृति लिएका छन् । यस्तै तराइका अन्य जिल्लाहरु धनुषाबाट ४ हजार १८२ जना, झापाबाट ३ हजार ५२४ जना, सिराहाबाट ३ हजार ४९३ जना, मोरङबाट ३ हजार २०६ जना, रुपन्देहीबाट २ हजार ३५० जनाले श्रम स्वीकृति लिएका छन् ।

यसैगरी, दाङबाट १ हजार ७१० जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिदा महोत्तरीबाट २ हजार ८१० जना, बाग्लुङबाट १ हजार ६१८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

१० महिनामा बाहिरिए ६ लाख ८५ हजार

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ६ लाख ८५ हजार नेपाली बाहिरिएका छन् ।

विभागका अनुसार साउनदेखि बैशाखसम्म १ लाख ८ हजार ४०२ जनाले नयाँ र अन्यले पुनः श्रम स्वीकृती लिएर जम्मा ६ लाख ८५ हजार ९२४ जना बाहिरिएका हुन् ।
गत आर्थिक वर्षको सोही अवधिमा ६ लाख ९ हजार ७ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

वैशाखसम्म म्यानपारवबाट २ लाख ८६ हजार ९४१ जना बाहिरिएका छन् भने जीटुजी मार्फत १० हजार ६३ जनाले श्रम स्वीकृती लिएका छन् । चालु आर्थिक वर्षको १० महिनामा बाहिरिएका मध्ये ६ लाख ८ हजार ८३९ जना पुरुष रहेका छन् भने ७७ हजार ८५ जना महिला रहेका छन् ।

चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै ७८ हजार ५१ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । जसमध्ये ६९ हजार १२० जना पुरुष छन् भने ८ हजार ९३१ जना महिला रहेका छन् ।

चैतसम्म ५ लाख ३९ हजार ७१९ पुरुष र ६८ हजार १५४ जना महिला गरी कूल ६ लाख ७ हजार ८७३ जनाले श्रम स्वीकृति लिएका थिए ।

उच्च दक्षता हासिल गरेका नेपाली पनि जान्छन् विदेश

उच्च दक्षता हासिल गरेका नेपाली पनि वैदेशिक रोजगारमा जाने गरेको पाइएको छ । वैशाखमा मात्र उच्च दक्षता हासिल गरेका १०० जना युवा वैदेशि रोजगारीमा गएका छन् ।

विभागका अनुसार ७७ जना पुरुष र २३ जना महिला गरी कूल १०० जना उच्च दक्ष कामदमार बाहिरिएका छन् । यस्तै, चालु आर्थिक वर्षको वैशाखमा २२ हजार युवा रोजगारीको सिलसिलामा कुनै पनि सिप नै नसिकी बाहिरिएका छन् ।

सरकारले वैदेशिक रोजगारीमा जानेलाई सीप अनिवार्य गरेतापनि अझै पनि बिना कुनै सिप बाहिरिनेको संख्या घट्न सकेको छैन । वैशाखमा २० हजार १५ पुरुष र २ हजार १११ महिला गरी २२ हजार १२६ जना कुनै पनि सीप नसिकी बाहिरिएका छन् ।

यस्तै, कुनै न कुनै सीप सिकेर ३९ हजार ३७ जना पुरुष र ५ हजार ८०८ जना महिला गरी कूल ४४ हजार ८४५ जना रोजगारीको लागि पलायन भएका छन् ।

सो अवधिमा ९ हजार ७०४ पुरुष र ९२५ जना महिला गरी १० हजार ६२९ जना अर्धदक्ष कामदार बाहिरिएका छन् ।

यस्तै विज्ञता हासिल गरेका र उच्च दक्ष कामदार भने न्युन मात्रामा मात्र बाहिरिएको तथ्यांकले देखाएको छ । विज्ञता हासिल गरेका २८६ पुरुष र ६४ जना महिला गरी ३५० जना बाहिरिएका छन् । वैशाखमा उच्च दक्ष कामदार भने १०० जना बाहिरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति: २२ जेठ २०८२, बिहीबार  १२ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।