काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) मा नेपालले १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्षको घाटा ६.३० प्रतिशतले बढी हो ।
गत आर्थिक वर्ष २०८०/८१ को सो अवधिमा नेपाललाई १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ व्यापार घाटा भएको थियो । ११ महिनामा नेपालले विभिन्न देशबाट १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँको वस्तु तथा सामान आयात गर्दा निर्यात भने २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँको मात्र गरेको छ ।
भन्सार विभागका अनुसार नेपालले बढी व्यापार घाटा बेहोरेका देशहरू क्रमशः भारत, चीन, अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्स (युएई), अस्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, ब्राजिललगायत छन् । अहिलेको अवस्थामा नेपालको सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग रहेको विभागले जनाएको छ ।
विभागका अनुसार ११ महिनामा भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब ७६ अर्ब २३ करोड ९९ लाख ५० हजार रुपैयाँ छ । भारतबाट उक्त अवधिमा ९ खर्ब ७७ अर्ब १३ करोड ८० लाख ९९ हजार रुपैयाँको वस्तु तथा सामान नेपाल भित्रिएको छ भने नेपालबाट भारतमा २ खर्ब ८९ करोड ८१ लाख ४८ हजार रुपैयाँको मात्र वस्तु तथा सामान निर्यात भएको छ ।
त्यस्तै, नेपालको व्यापार घाटा चीनसँग पनि उच्च छ । जेठसम्ममा चीनबाट नेपालमा २ खर्ब १४ अर्ब ५७ करोड ५६ लाख ९७ हजार बराबरको वस्तु तथा सामान आयात भएको छ भने नेपालबाट चीनमा २ अर्ब ४८ करोड १७ लाख २४ हजार रुपैयाँको वस्तु निर्यात भएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार अर्जेन्टिनासँग सो अवधिमा ८६ अर्ब ४० करोड ६९ लाख १५ हजार रुपैयाँ घाटाको व्यापार भएको छ । नेपालले अर्जेन्टिनालाई ३३ लाख ५५ हजार रुपैयाँको वस्तु तथा सामान निर्यात गरेको छ भने ८६ अर्ब ४१ करोड २ लाख ७१ हजार रुपैयाँको वस्तु अर्र्जेन्टिनाबाट नेपाल भित्रिएको पनि विभागको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, युक्रेनसँग पनि नेपालको व्यापार घाटा २४ अर्ब २४ लाख ७४ हजार रुपैयाँ पुगेको छ । नेपालले युक्रेनबाट २४ अर्ब ९१ लाख ३ हजार रुपैयाँको वस्तु आयात गरेको छ भने ६६ लाख २९ हजार रुपैयाँको मात्र वस्तु तथा सामान निर्यात गरेको छ ।
त्यसैगरी, युएईसँग पनि नेपालको व्यापार घाटा बढ्दै गएको देखिन्छ । पछिल्लो ११ महिनामा नेपालको युएइसँगको व्यापार घाटा २२ अर्ब १९ करोड ६९ लाख ८९ हजार रुपैयाँ पुगेको छ । विभागका अनुसार नेपालबाट युएइमा २ अर्ब ६२ करोड २५ लाख २२ हजार रुपैयाँको वस्तु निर्यात भएको छ भने उक्त देशबाट २४ अर्ब ८१ करोड ९५ लाख ११ हजार रुपैयाँको आयात भएको छ ।
यस्तै, अस्ट्रेलियासँग पनि नेपालको व्यापार घाटा बढ्दै गएको विभागको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार अस्ट्रेलियासँग नेपालको व्यापार घाटा १७ अर्ब २८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा अस्ट्रेलियाबाट १८ अर्ब ६२ करोड २२ लाख ९५ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट १ अर्ब ६१ करोड ९४ लाख ९ हजार रुपैयाँको वस्तु अस्ट्रेलिया निर्यात भएको विभागले जनाएको छ ।
त्यसैगरी, सो अवधिमा इन्डोनेसियासँग नेपालको व्यापार घाटा १३ अर्ब ५६ करोड ५७ लाख ५३ हजार रुपैयाँ पुगेको छ । विभागका अनुसार नेपालबाट इन्डोनेसियामा ३१ करोड ८१ लाख ८३ हजार रुपैयाँको वस्तु तथा सामान निर्यात भएको छ भने उक्त देशबाट १३ अर्ब ८८ करोड ३९ लाख ३६ हजार रुपैयाँको सामान आयात भएको छ ।
थाइल्यान्डसँग नेपालको व्यापार घाटा १३ अर्ब २ करोड ४५ लाख ५४ हजार रुपैयाँ छ । थाइल्यान्डबाट नेपालमा १३ अर्ब ७ करोड ५३ लाख ८७ हजार रुपैयाँको वस्तु आयात भएको छ भने नेपालबाट थाइल्यान्डमा ५ करोड ८ लाख ३३ हजार रुपैयाँको सामान निर्यात भएको विभागले जानकारी दिएको छ ।
यो अवधिमा मलेसियासँग नेपालको व्यापार घाटा १२ अर्ब ५१ करोड ८२ लाख ९ हजार रुपैयाँ छ । मलेसियाबाट १२ अर्ब ७० करोड २८ लाख २३ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ भने नेपालबाट १८ करोड ४६ लाख १३ हजार रुपैयाँको वस्तु मलेसिया पठाइएको छ ।
यसैगरी, विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ब्राजिलसँगको व्यापारमा नेपालले १० अर्ब ५९ करोड ६३ लाख ६३ हजार रुपैयाँ बराबरको घाटा बेहोरेको छ । नेपालले ३ करोड ४ लाख ७३ हजार रुपैयाँको वस्तु निर्यात गर्दा १० अर्ब ६२ करोड ६८ लाख ३५ हजार रुपैयाँको वस्तु आयात गरेको विभागले जनाएको छ ।










प्रतिक्रिया