काठमाडौैँ । चालु आर्थिक वर्षको ११ महिनामा फलफूलको आयात अकासिएको छ । सो अवधिमा १५ अर्ब ६८ करोड ३१ लाख ५७ हजार रुपैयाँ बराबरका स्याउ, केरा, ताजा अंगुर, सुन्तला, आँप र कागती आयात भएको हो । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ ।
चालु आवको ११ महिनामा नेपालमा ८ करोड २८ लाख ९६ हजार ९८ केजी स्याउ आयात भएको हो । सो परिमाणमा स्याउ आयात हुँदा ९ अर्ब ५६ करोड ३५ लाख ७० हजार रुपैयाँ बाहिरीएको हो ।
नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना छ । यति हुँदाहँुदै पनि डरलाग्दो आयात हुनुले नेपालमा फलपूmलको परनिर्भरता चुलिँदै गएको देखिन्छ ।
नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने चीनबाट हो । ११ महिनामा चीनबाट ७ करोड २५ लाख ७८ हजार ३७० केजी स्याउ आयात भएको छ । सो परिमाणमा स्याउ आयात हुँदा ८ अर्ब ७५ करोड ३१ लाख ९ हजार रुपैयाँ रकम बाहिरीएको भन्सार विभागको तथ्यांकले जनाएको छ ।
त्यस्तै, भारतबाट पनि नेपालमा बढी मात्रामा स्याउ आयात हुने गर्छ । सो अवधिमा भारतबाट ८१ करोड ४ लाख ४७ हजार रुपैयाँमा १ करोड ३ लाख १७ हजार ६८८ केजी स्याउ आयात भएको हो । भने थाइल्यान्डबाट ८ हजार रुपैयाँको १५ केजी र भुटानबाट ६ हजार रुपैयाँको २५ केजी स्याउ आयात भएको छ ।
यसैगरी, सोही अवधिमा नेपालमा २ अर्ब १३ करोड १३ लाख १५ हजार मूल्य बराबरका केरा आयात भएको छ । नेपालमा केरा भारत र चीनबाट आउने गर्छ । सो अवधिमा भारतबाट २ अर्ब १३ करोड १३ लाख १४ हजार रुपैयाँको आयात भएको छ भने चीनबाट मात्र १ हजार रुपैयाँको आयात भएको हो ।
त्यस्तै, चालु आवको ११ महिनामा भारत चीनबाट १ अर्ब ८९ करोड ५४ लाख २० हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ६९ हजार ४८ केजी अंगुर आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालमा सुन्तला भारत, इजिप्ट, चिन र दक्षिण अफ्रिकाबाट आउने गर्छ । सो अवधिमा भारतबाट ९२ करोड ४० लाख ७० हजार रुपैयाँ, इजिप्टबाट १३ करोड १३ लाख ६ हजार रुपैयाँ, चीनबाट ७ करोड ७० लाख ७२ हजार रुपैयाँ र साउथ अफ्रिकाबाट २ करोड ८५ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरका कूल १ अर्ब १६ करोड १० लाख ३० हजार रुपैयाँको सुन्तलाको आयात भएको छ ।
त्यस्तै चालु आर्थिक वर्षको ११ महिनामा भारतबाट ५० करोड ७८ लाख ३६ हजार मूल्य बराबरको ५६ लाख २८ हजार ३९२ केजी कागती आयात भएको छ ।
नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ । तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ । तर आयात भने रोकिएको छैन । चालु आर्थिक वर्षको ११ महिनामा ४२ करोड ३९ लाख ८६ हजार मूल्य बराबरका विभिन्न जातको ६१ लाख ५४ हजार ८७७ केजी आँप भारत र चीनबाट आयात भएको छ ।
प्रतिक्रिया