‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई आइतबारदेखि बिक्रीमा


काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई आइतदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याइएको हो।

यो योजना बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोष हो जसको अवधि १० वर्ष रहनेछ। जारी गरिने कुल इकाईमध्ये १५ प्रतिशत हिस्सा बीज पूँजीको रूपमा राखिएको छ। जसमध्ये १.५ प्रतिशत अर्थात् १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल आफैंले लिनेछ भने बाँकी १३.५ प्रतिशत अर्थात् १ करोड ६२ लाख इकाई बीज पूँजीको रूपमा राखिनेछ।

बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।

यस योजनामा आवेदन दिने अन्तिम म्याद प्रारम्भिक रूपमा असार २५ गतेसम्म तोकिएको छ। यदि तोकिएको अवधिसम्म सबै इकाई बिक्री नभएमा आवेदन साउन ४ गतेसम्म खुला रहनेछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इकाईमा आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन पोर्टलमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको जनाएको छ।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार  १२ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।