एकैदिन २२ अर्ब भुक्तानी, सरकारी खर्चमा एकै दिनमा हालसम्मकै अधिक भुक्तानी


काठमाडौँ । चालु आर्थिक वर्षको एकैदिन (असार २५) मा झन्डै २२ अर्ब रुपैयाँ विकास बजेट भुक्तानी भएको छ । सरकारले एक दिनमा गरेको यो भुक्तानी हालसम्मकै सबैभन्दा धेरै रकम हो । चालु आर्थिक वर्षको सरकारी खाता बन्द हुने अन्तिम दिन असार २५ गते २१ अर्ब ७३ करोड २ लाख रुपैयाँ पूँजीगत बक्यौता भुक्तानी भएको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २४ गते सम्म १ खर्ब ८६ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ पूँजीगत खर्चको भुक्तानी भएकोमा असार २५ गते भुक्तानी रकम २ खर्ब ८ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को असार २५ गते सरकारले १४ अर्ब ४० करोड १३ लाख रुपैयाँ भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० को असार २४ गते १९ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ भुक्तानी भएको थियो भने आर्थिक वर्ष २०७८/७९ को असार २५ मा १४ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ भुक्तानी महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को असार २४ मा सरकारले १३ अर्ब ८८ करोड ४६ लाख रुपैयाँ भुक्तानी भएको थियो ।

यस्तै चालु आर्थिक वर्षको असार २५ गते १४ अर्ब ९३ करोड ६६ लाख रुपैयाँ चालु खर्चको भुक्तानी भएको छ । असार २४ गते सम्ममा ९ खर्ब ६४ अर्ब १ करोड रुपैयाँ चालु खर्च भएकोमा असार २५ गते ९ खर्ब ७८ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ पुगेको हो । असार २५ गते वित्तीय व्यवस्थापनमा १ अर्ब ९४ करोड ४९ लाख रुपैयाँ बजेट भुक्तानी भएको छ । असार २४ गते ३ खर्ब १५ अर्ब ९६ करोड ११ लाख रुपैयाँ रहेको वित्तीय व्यवस्थापनको भुक्तानी असार २५ गते ३ खर्ब १७ अर्ब ९० करोड ६० लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार  १५ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।